गोरखामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

गोरखा, साउन २ ।
गोरखाको शहीद लखन गाउँपालिका–६ अँधेरी गाउँमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान करीब ६ बजे तिर अँधेरीका नवराज कुँवरको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवराजकी भतिजी १० वर्षीया प्रविना कुँवर, भान्जी २० वर्षीया सरु कुँवर र सरुका ९ महिनाका छोरा रहेको शहीद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिएका छन् । पुरिएका तीनै जनाको शव निकालेर स्थानीय दुर्गा प्रा. वि.को प्रांगणमा राखिएको बताइएको छ ।

अहिले घटना स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको एसपी विमल बस्नेतले जानकारी दिएका छन् । यसै गाउँपालिकाको तीनघरे गाउँ पनि पहिरोको जोखिममा रहेको र उक्त स्थानमा पनि नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटिएको बस्नेतले बताए ।

एसपी बस्नेतका अनुसार गोरखाकै धार्चे गाउँपालिकाको खानीबेशी गाउँमा पनि पहिरोले एक घर बगाएको छ । खानीबेशीका साइला गुरङको घर बगाएको र मानवीय क्षति भने नभएको उनले बताए । खानीबेशीका अन्य ५ घर पनि जोखिममा रहेको जनाइएको छ ।