गोरखामा नयाँ शक्तिका ५ कार्यकर्ता १ लाख नगदसहित पक्राउ

गोरखा, मंसिर १० ।
नयाँ शक्ति पार्टी नेपालका ५ कार्यकर्तालाई प्रहरीले १ लाख नगदसहित नियन्त्रणमा लिएको छ । उनीहरुलाई जौबारी युवा क्लबका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
चुनावी प्रचारमा प्रयोग गरिएको गाडीभित्र चुनावी प्रचार सामग्री र ब्यागमा नगद १ लाख भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । आइतबारको चुनावलाई प्रभाव पार्न गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पैसा बाँडेको स्थानीय युवा भगत दवाडीले आरोप लगाए ।
’एक झोला पैसा बोकेर लगेका रहेछन्’, स्थानीय युवा अर्जुन ढकालले भने, ’बाँडेर फर्कंदै गर्दा एक लाख मात्रै पक्रन सफल भयौं ।’
गए राति १ बजे गोरखा क्षेत्र नम्बर २ अन्तर्गत सिरानचोक गाउँपालिका ८ गोपालडाँडामा युवाहरुले गाडी, नगद र ५ कार्यकर्तालाई नियन्त्रणमा लिएका हुन् ।
अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७२५ नम्बरको महिन्द्रा बोलेरो गाडीमा नगद भेटिएको र गाडीमा रहेका कार्यकर्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जौबारीले जनाएको छ ।
पक्राउ पर्नेमा चालक गोरखा ११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका १० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ, गोरखा नगरपालिका ६ का भरतकुमार श्रेष्ठ र गोरखा ८ बस्ने खुसबहादुर थापा छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय जौबारीमा राखिएको छ ।