गोरखामा जराङ कप फुटवल हुने

पोखरा, पुस १८ ।
गोखराको बारपाक सुलिकोट गाउँपालिका स्थित जराङमा जराङ कप फुटवल प्रतियोगिता हुने भएको छ । माघेसंक्रान्तिको अवसर पारेर माघ १ देखि ५ गतेसम्म जराङ कप प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पहिलो हुनेले ७० हजार रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र पाउने छ ।

दोश्रो हुनेले ३५ हजार नगद सहित कप, प्रमाणपत्र र मेडल प्र्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई २ हजार, उत्कृष्ट गोल रक्षकलाई २ हजार, सर्वाधिक गोलकर्तालाई ट्रफी सहित नगद २ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । जनप्रेमी युवा क्लवको आयोजनामा हुने प्रतियोगितामा टीम दर्ता गर्नका लागि ७ हजार बुझाउनुपर्ने क्लवका अध्यक्ष गिरबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन माघ १ गते २ बजेसम्म दर्ता हुन पाउने छ । टाढाबाट पुगेका खेलाडीलाइ खानाको ब्यवस्था  मिलाईएको प्र्रतियोगिताको आर्थिक उपसमिति सचिव सन्दिप बगालेले बताए ।