गोरखामा जन्ति गएर फर्केको जीप दुर्घटना, ५ जनाको मृत्यु

पोखरा, असार ८ ।
गोरखाको मनकामना सिलिङमा बेहुलीको घर गएर टिकाटालो गरेर फर्केको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । शुक्रबार राती दुईबजे भएको दुर्घटनामा परी घाइते हुनेहरुको पहिचान खुलेको छ ।

दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा दुर्घटना भएको थियो ।

सडकबाट करिब डेढसय मिटर तल खसेर भएको बोलेरो जीप दुर्घटनामा घाइते भएकामध्ये एकजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने १२ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

दुई जना सकुशल रहेका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए । घाइतेहरु सबैजना सहिदलखन ५ पोखरीडाँडाका छन् । स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सोही ठाउँ निबासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।