गोरखामा छुट्टाछुट्टै दुर्घटना, २ जनाको मृत्यु
गोरखा, जेठ १३ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी गोरखामा दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । दुईजना घाइते भएका छन् । आइतवार आरुघाट गाउँपालिका ९ आरुघाटबजारको विद्युतचोकमा रोकिराखेको मिनी ट्रकबाट खसेर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ विशालनगरका ५० वर्षीय बिष्णु श्रेष्ठको मृत्यु भएको छ ।
बा ३ ख २५८३ नम्वरको मिनिट्रकबाट सामान लोडअनलोड गर्दा लडेर श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका इन्चार्ज दयाराम पौडेलले बताए । मजदुरी पेशा गर्दै आएका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै गोरखाको सिरानचोक गाउँपालिका ७ चिउरेभिरमा शनिवार राति टिपर दुर्घटना हुँदा चालक सोही गाउँपालिका ७ का २० वर्षीय सुमन खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गाडीमा सवार सोही ठाउँका १४ वर्षीय जनक गुरुङ घाइते छन् । सहचालक धादिङ जोगिमाराका २१ वर्षीय प्रदीप श्रेष्ठ वेपत्ता भएको प्रहरीले जनाएको छ । गिटी लिएर नयाँसाघुबाट जौवारी जाँदै गरेको बा ५ ख १९८२ नम्वरको टिपर अनियन्त्रित भइ सडकबाट करिव १२० मिटर तल दरौदी नदिमा खसेको थियो ।
यता गोरखा नगरपालिका १३ पाँचकिलोमा शनिवार टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । गोरखाबाट आवुखैरेनी जादै गरेको ग १ ख ७७६० नम्बरको टिपरले विपरीत दिशाबाट आएको बा ७८ प ५९५२ नम्वरको मोटरसाइकलाई ठक्कर दिदाँ मोटरसाइकल चालक गोरखा नगरपालिका(१३ का ३७ वर्षीय किसन उप्रेती घाइते भएको प्रहरीले जनाएको छ । घाइते उप्रेतीको चितवनमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । टिप्परका चालक फरार छन् ।