गोरखामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

गोरखा, असोज १७ ।
ससुरालीमा दसैँको टीका लगाउन जाँदै गरेका गोरखाका विष्णुबहादुर कुमालको दरौँदी नदीमा बगेर ज्यान गएको छ । सिरानचोक गाउँपालिका–४ अमराई गाउँका ५६ वर्षका कुमाललाई सोमबार दिउँसो नदीले बगाएको हो ।
नदी तर्ने क्रममा बगेर हराएका उनको शव मंगलबार बिहान सिरानचोक गाउँपालिका–४ मा रहेको दरौँदी र भुसुण्डे खोलाको दोभानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यस्तै गाडीको ठक्करबाट गोरखा नगरपालिका–१३ तीन किलो बजारकी एक बालिकाको ज्यान गएको छ । सोमबार बेलुका ६ बजेतिर बा १ ज ४३४९ नम्बरको ट्याक्सीले ठक्कर दिँदा ३ वर्षकी नेबिसा गुरुङको ज्यान गएको हो ।
रसुवा नौकुण्ड गाउँपालिका घर भएकी बालिकालाई गम्भीर अवस्थामा उपचारका लागि तनहुँ डुम्रेको लक्ष्मी अस्पतालमा लगिएकोमा त्यहीँ ज्यान गएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए । ट्याक्सी चालक मकवानपुर फापरबारी गाउँपालिका–१ का ३० वर्षका श्यामकुमार थोकरलाई प्रहरीले पक्राउ गरेको छ ।