गोरखाको यस्तो गाउँ जहाँ दसैँ मनाइँदैन

गोरखा, कार्तिक १ ।
घर–घरमा खसी, बोका, राँगा, च्यांग्रा काट्न नेपालीहरू व्यस्त छन् । बडादसैँको फूलपाती, महाअष्टमी र महानवमीमा धेरै पशुपंक्षीको बध गरिन्छ । तर गोरखाको उत्तरी भेगमा पशुपंक्षीको काटमार नगर्ने गाउँ छ–जसलाई चुम उपत्यकाले चिनिन्छ ।

छेकम्पार र चुम्चेत गाउँले वि.स १९७७ देखि अहिंसा क्षेत्रको पहिचान बनाएका छन् । यहाँका मानिसहरू दसैँ मान्दैनन् । यहाँ बौद्ध धर्माबलम्वी बस्छन् । यहाँ पशुपंक्षीको मारकाटजन्य कार्यलाई पूर्ण निषेध गरिएको ९८ वर्ष भइसकेको छ ।

चुम उपत्यकालाई अहिंसा क्षेत्रको रूपमा पुनः वि.सं. २०६९ सालमा औपचारिक घोषणा गरियो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले छेकम्पारमा चुम कल्याण समितिले गरेको महोत्सवमा अहिंसा क्षेत्र घोषणा गरे । अहिंसा क्षेत्रलाई विश्वसामु चिनाउन र यस क्षेत्रमा धार्मिक पर्यटक भित्र्याउन स्थानीय बासिन्दाले चुम उपत्यकामा साँस्कृतिक ’स्याक्या’ महोत्सव गरी चुम उपत्यकालाई हिंसामुक्त क्षेत्र बनाए ।

अहिंसा क्षेत्र बनाउनुपूर्व यहाँ केही नियम बनाइयो । चुम कल्याण समितिका अध्यक्ष भइसकेका छेकम्पारका निमा लामाका अनुसार चुम उपत्यकामा बसोबास गर्ने बासिन्दाले मह काड्न, सिकार खेल्न, पशुपंक्षी काटमार गर्न, जंगलमा डढेलो लगाउन र मासुजन्य पशुपंक्षी ओसारपसार गर्न पाउँदैनन् । किनभने यो अहिंसा क्षेत्र हो ।

कसैले नियम तोडे के गर्ने ? स्थानीयले बनाएको नियम यस्तो छ। कसैले नियम उल्लंघन गरेमा गुम्बामा बत्ती बाल्नुपर्छ । बत्ती बाल्दा कम्तीमा २० हजार खर्च हुन्छ । यही खर्च नै अहिंसा क्षेत्र उल्लंघन गरेबापतको जरिवाना हो ।

संरक्षित झारल, घोरल, नाहुर, डाँफेलगायत पशुपंक्षी काटमार वा सिकार गरेमा प्रहरीलाई बुझाइन्छ, प्रहरीले कानुनअनुसार दोषीलाई कारबाही गर्छ । अहिले यस क्षेत्रमा व्यवसायिक चौरी पाल्न थालिएको छ ।

छेकम्पारमा चिज उद्योग खुलिसकेको छ। स्थानीय बासिन्दाले दूध, घ्यु, चिज र छुर्पीका लागि पशुपालन गर्छन् । पालेका पशु काटमार गर्न कसैलाई विक्री गर्दैनन् ।–पत्रकार प्रसन्न पोखरेलले सेतोपाटी डटकमका लागि समाचार लेखेका हुन् ।