गोरखाको ओढारमा भेटियो १६ किलो सुन

पोखरा, साउन ९ ।
गोरखामा अवैध रुपमा लुकाई राखेको १६ किलो सुन प्रहरीले बरामद गरेको छ । धार्चे गाउँपालिका ३ खोर्लाबेशी स्थित ओढारमा लुकाएर राखेको १६ विस्कुट सुन बरामद गरिएको हो ।

चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको सुन बरामद गरिएको गोरखाका एसपी ओम अधिकारीले जानकारी दिए ।

‘यति नै किलो छ भनेर अहिले भन्न सकिदैन, मान्छे समातेर ल्याउदैछौं, थप अनुसन्धान हुदैछ,’ एसपी अधिकारीले भने । यसअघि घटनास्थल नजिकैको माछाखोला प्रहरी चौकीले १२ ढिक्का सुन बरामद भएको जानकारी दिए पनि जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले १६ ढिक्का नै भेटिएको पुष्टि गरेका हुन् ।

काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमले ओढारमा सुन लुकाएको ठाउँ देखाएका थिए । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा थियो ।

असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए ।

उनलाई आक्रमण गर्न खोज्ने ४ जना भने पक्राउ परेका थिए । पक्राउ परेकाहरुले धनकमलले सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए । त्यसपछि खोजी गरेको प्रहरीले धनकमललाई बुधबार काठमाडौंमा पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेर सुन लुकाएको ठाउँमा ल्याइएको प्रहरीले जनाएको छ ।