गोरखाका विनितले बनाए गण्डकी प्रदेशको लोगो

पोखरा, असोज १५ ।
गण्डकी प्रदेशको लोगो तयार भएको छ । प्रदेशको नाम टुंग्याएको साढे २ महिनापछि गण्डकीले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) सोमबार सार्वजनिक गरेको हो । लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार गण्डकी प्रदेशको लोगो सार्वजनिक गरिएको हो ।

दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला छ । त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ । यसले क्रमश पहाडी क्षेत्र र भित्री मधेसको पहाडी क्षेत्रलाई चिनाउँछ ।

लोगोको माथिपट्टि देखिने हिमालले अन्नपूर्ण हिमाल क्षेत्रलाई जनाउँछ । हिमाली जिल्लालाई समेत यसले प्रतिनिधित्व गर्दछ । लोगोको दायँबाया राखिएका धानको बाला समृद्धिका प्रतीक हुन् । नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा छ । यसले प्रदेशको भूगोल चिनाउँछ । उक्त भूगोलभित्र तराई क्षेत्रीय जिल्ला नवलपुर देखि मनाङ, मुस्ताङका जातजाती अटाएका छन् । गण्डकी प्रदेशमा बोलिने भाषा, भेषभुषा र संस्कृतिको प्रतिनिधित्व गरेको छ । युवादेखि वृद्धहरुसम्म नक्सामा अटेका छन् ।

पहाडको काखबाट बहने नदीले गण्डकी प्रदेशको जलसम्भावनालाई प्रष्टयाउँछ । नदीको संकेतको वारिपारि गैँडा र जरायो चरेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गण्डकी प्रदेशका वन्यजन्तुको प्रतिनिधित्व यी जनावरले गरेका छन् । लोगोभित्रको डाँफे राष्ट्रिय पंक्षी हो ।

त्यस भन्दा तल लैंगिक समानता झल्काउन महिला र पुरुषले हात मिलाएको संकेत राखिएको छ । लोगो तथा पोशाक सिफारिस समितिका संयोजक मायानाथ अधिकारीले नवलपुरदेखि मुस्ताङसम्मको भूगोल, सम्पदा र महिला–पुरुषको सहअस्तित्व झल्कने चिह्न बनाएको बताए ।

यो लोगो गोरखाका विनित रानामगरले बनाएका हुन् । उनी प्रदेशसभा सचिवालयका कर्मचारी समेत हुन् । समितिले साउन २१ गते लोगो बनाउन सार्वजनिक आह्वान गरेको थियो । उनलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

लोगो र पोशाक निर्धारण गर्न कार्यव्यवस्था परामर्श समितिलाई जिम्मा दिईएको थियो । समितिले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सचेतकहरुलाई समेटेर छुट्टै लोगो तथा पोशाक सिफारिस समिति बनाएको थियो । यो समितिले लोगो टुंग्याएर प्रदेशसभालाई बुझाईसकेको छ ।

यस्तै समितिले प्रदेशसभा सदस्यहरुको लागि खैरो रंगको पोशाक सिफारिस गरेको छ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरुले लोगोसहित खैरो कोट लगाउनुपर्नेछ । सचिवालयले २०७५ सालको साउन २१ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गरेको थियो । त्यसका लागि १२ जनाले लोगो प्रदेश सभामा पठाएका थिए । ती मध्ये प्रतिस्पर्धाको आधारमा विनित मगरको लोगो छनोट भएको हो ।

प्रदेशसभा नियमावलीको नियम २०६ अनुसार कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुनेछ भन्ने व्यवस्था रहेको छ ।