गोरखाका रामशरण प्रदेशको उद्योगमन्त्री (को हुन् बस्नेत ?)

प्रकाश ढकाल
पोखरा, फागुन ४ ।
गोरखा अहिलेसम्म एमालेका लागि कमजोर भूमी । यसअघि कहिलै पनि एमालेले शिर ठाडो हुने गरी चुनाव जितेको छैन । केही गाविसहरुमा अध्यक्ष उपाध्यक्ष जितेपनि संसदीय चुनाव एमालेका लागि गोरखा कहिलै पनि फापेन । हरेक चुनावमा एमालेका उम्मेदवार हुन्थे तर धरौटी फर्काउने गरी मत ल्याउन पनि धौ धौ थियो । पहिलो पटक माओवादीको साथले एमालेले संसदीय चुनाव जितेको छ । एमालेले संसदीय चुनाव मात्रै जितेन, ऐतिहासिक प्रदेश सरकारको मन्त्री समेत पायो । रामशरण बस्नेत, जो कमजोर कम्युनिष्ट धरातलका मजबुत दावेदार थिए । २०१८ साल मंसिर १८ गते गोरखाको तत्कालीन नारेश्वर गाविसमा जन्मिएका उनको लामो जीवन कम्युनिष्ट आन्दोलनमा बित्यो । पञ्चायती व्यवस्थाताका मजदुर संगठन, अनेरास्ववियुका राष्ट्रिय परिषद सदस्य र पिपुल्स क्याम्पस स्ववियुमा सहसचिव हँुदै पार्टी राजनितिमा छिरेका उनी ३५ सालपछि नै राजनीतिक कार्यकर्ता भैसकेका थिए ।  
२०४९ र २०५४ गरी २ पटकसम्म नारेश्वर गाविसमा अध्यक्ष जितेका उनी २०५६ र २०७० को संसदीय चुनावमा पराजीत उम्मेदवार हुन् । तर त्यसको बदला लिँदै उनले २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट बिजयी हुँदै प्रदेश सरकारको पाईला अघि बढाएका थिए । २०५१ बाट निरन्तर गोरखाको एमाले पार्टीमा क्रियाशील बस्नेत जिल्ला कमिटिको सदस्य, उपसचिव र सल्लाहकार कमिटिको अध्यक्ष हुदै २०६६ र २०६९ गरी दुईपटक एमाले गोरखाको अध्यक्ष बने । उनी हाल नेकपा एमालेको बैकल्पीक केन्द्रीय सदस्य तथा गोरखा र मनाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा कार्यरत छन् । उनै बस्नेत अहिले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको रुपमा नियुक्त भएका छन् । मन्त्रीमा नियुक्तिपछि उनले आफ्नो लामो कार्यकुशलता प्रदेशको विकास र समृद्धीमा लगानी गर्ने प्रतिक्रिया दिए ।