गोरखाका भुजेल परिवारलाई कोरियामा बस्ने नेपालीको सहयोग

पोखरा, असोज १५ ।
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङ्दीका स्व. दलबहादुर भुजलेको परिवारलाई दक्षिण कोरियामा काम गर्न पुगेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । परिवार पूरै अपागं छन् । गुणराज न्यौपानेको संयोजकत्वमा संकलन गरिएको ७५ हजार रुपैयाँ सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको हो ।

कोरियामा काम गर्दै आएका नेपालीहरुबाट ६० हजार र बाँकी १५ हजार रुपैयाँ वेलफेयर फाउडेसनबाट थप गरी ७५ हजार रुपैयाँ हस्तान्तरण गरिएको संयोजक न्यौपानेले बताए । भुजेल परिवारको घर निर्माण गर्न रेखा लोप्चन तामाङले सामाजिक सञ्जाल मार्फत अभियान चलाएकी थिईन् ।

उनकै अभियानलाई सघाउँदै रकम पठाईएको न्यौपाने बताउँछन् । घर निर्माणको काम ९५ प्रतिशत पूरा भैसकेको लोप्चनले बताईन् । ‘सबै सहयोगी मनहरुकौ साथले घर निर्माणको योजनाले सार्थकता पाउन लागेको छ । लगभग अन्तिम चरणमा पुगेका छौं, उनले भनिन्–मान्छेको चाहना भयो भने र मनदेखि सेवा गर्ने हो भने सहयोग गर्नेहरुले पनि साथ दिन्छन् । मैले पनि त्यही साथ पाईरहेकी छु ।’

अपांगता भएकाहरुलाई आवासमा राख्ने सपना बोकेर अघि बढेकी उनले कहिलेकाहीँ अवरोध भएको सुनाईन् । तर पछि प्रशासनले समेत सहयोग गरेपछि उनको योजनाले सार्थकता पाउन लागेको हो । भवन निर्माणको सबै काम सकेर रंगरोगनको काम सुरु भएको लोप्चनले बताईन् । आउँदो तिहारसम्म घर परिवारलाई हस्तान्तरण गरिसक्ने उनको भनाई छ ।