गोप्य कोठामा ओलि प्रचण्डको दुईघण्टा घोचपेच

काठमाडौं, बैशाख ९ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।

कार्यक्रम कतिबेला सुरु होला भनेर हलमा कार्यकर्ताले व्यग्र प्रतिक्षा गरिरहेकै बेला सभागृहको एउटा कोठामा दुई दलका शीर्षनेताहरु बाझाबाझ गरिरहेका थिए । त्यहाँ दुई घण्टासम्म प्रचण्ड र ओलीवीच गलफत्ती र्पयो । केपी ओलीले म उठेर जान्छुभन्दा प्रचण्डले गए हुन्छ भन्ने जवाफ फर्काए । दिउँसो १२ बजे गर्ने भनिएको संयुक्त कार्यक्रम ४ घण्टापछिमात्रै गरिएको थियो । कार्यक्रमस्थलमा टाँगिएको बोर्ड माओवादी कार्यकर्ताको विरोधका कारण झिकिएपछि कार्यक्रमस्थलकै एउटा कोठामा एकता संयोजन समितिको बैठक बसेको थियो । त्यहाँ झण्डै २ घन्टा गलफत्ती भयो । बाहिर कार्यकर्ताहरु छिटो कार्यक्रम सुरु गर भन्दै होहल्ला गरिरहेका थिए, भित्र नेताहरु आपसमा बाझिरहेका थिए ।

बाहिर कार्यकर्ताहरु छिटो कार्यक्रम सुरु गर भन्दै होहल्ला गरिरहेका थिए, भित्र नेताहरु आपसमा बाझिरहेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओलीले पुरानै ब्यानरमा कार्यक्रम गर्नुपर्ने अडान राखे । त्यो नभए कार्यक्रम नै नगर्ने प्रधानमन्त्री ओलीले धम्की दिए । माओवादी अध्यक्ष प्रचण्डले पनि पुरानै ब्यानर राख्ने हो भने संयुक्त कार्यक्रम नै नगर्ने अड्डी कसे । बैठकका क्रममा पटक–पटक ओलीले ‘म उठेर जान्छु, अब कार्यक्रम हुँदैन’ भनेका थिए । माओवादी अध्यक्ष प्रचण्डले पनि ‘हिड्ने भए हिँडौं भन्दै ओलीको प्रतिवाद गरे ।

दुई घन्टासम्म छलफल गर्दा पनि माओवादी नेताहरु नगलेपछि दुई बेग्लाबेग्लै ब्यानरमा कार्यक्रम गर्ने सहमति भयो । पहिले बनाइएको ब्यानर एमाले कार्यकर्ताले टाँगे भने माओवादीले अर्को ब्यानर टाँग्यो । र, ४ बजेदेखि कार्यक्रम सुरु भयो ।