गोकर्ण कार्कीः उम्मेद्वारी एक्लो, साथ सबैको

पोखरा, पुस १६ ।
पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेसनमा उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चुनावका लागि दुई वटा छुट्टाछुट्टै प्यानल घोषणा भएको छ । एउटा प्यानलको नेतृत्व हालका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले गरेका छन् भने अर्को नेतृत्व उद्योग उपाध्यक्ष विन्दु कोइरालाले गरेकी छिन् ।

कार्की दुईवटै प्यानलमा छैनन् । अघिल्लो पटक बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उनले अन्तिम समयमा रवीन्द्रबहादुर प्रजु प्यानललाई सघाउने भन्दै उम्मेद्वारी फिर्ता लिए । तत्कालीन समयमा कार्कीलाई अहिलेको चुनावमा सर्वसम्मत उम्मेदवार बनाउने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

आफु कार्यरत क्षेत्र औद्योगिक क्षेत्रको उद्योगी व्यवसायीहरुको समर्थनबाट उनले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘उद्योग बाणिज्य संघ सबैको साझा हो । पछिल्लो समय प्यानलका नाममा राजनीति भैरहेको छ,’ उनले भने, ‘म एक्लै लाग्दा बरु संस्थाको साख जोगाउन सक्छु । हाम्रा अग्रजलाई सम्मान गर्न सक्छु ।’ विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरिसकेका कार्की आफु संघमा विजयी हुने दावी गर्छन् ।

अग्रणी संस्थाको शाख, इज्जत र पुर्वजलाई सम्मान गर्न आफुले उम्मेदवारी दिएको उनले बताए । उनले उद्योगको पदमा उद्योगीलाई नै ठाउँ दिनुपर्ने बताए । ‘पदमा उद्योग भनिएको छ । सबै त्यहाँ उम्मेद्वार हुन्छन् । यसरी समानुपातिक प्रतिनिधित्व हुन सकेन,’ उनी भन्छन्, ‘सबैलाई न्याय गर्न सम्बन्धित पदमा सोही क्षेत्रका उम्मेदवार चाहिन्छ । म यो पदका लागि फिट छु ।’

कार्की विभिन्न सामाजिक संघ संस्थामा रहेर लामो समय काम गरे भने पोखराका सफल उद्योगी हुन् । यसअघिको कार्यकालमा उनी उद्योग उपाध्यक्ष कै रुपमा काम गरिसकेका छन् । उम्मेद्वार एक्लो भएपनि सबैले साथ र समर्थन गरेको उनले सुनाए ।