गृहजिल्लामै बाबुराम र नारायणकाजीको भिडन्त

गोरखा, असोज ५ ।
यसअघिको चुनावमा गोरखा माओबादीको सबैभन्दा राम्रो मतदाता भएको जिल्ला हो । डा. बाबुराम भट्टराई माओबादीमा हुँदा नेपालमै सबैभन्दा धेरै भोटका साथ भट्टराईले दुईपटक सम्म चुनाव जिते । त्यतिमात्रै होईन तीन निर्वाचन क्षेत्र भएको गोरखामा माओबादी बाहेक कुनैपनि दलले शिर उठाउन पाएनन् । तर अहिले अवस्था फरक छ । एकढिक्का भएर चुनाव लडेको यसअघिको माओबादी अहिले फरक फरक धारमा छ । तीन क्षेत्रको गोरखामा अहिले दुईवटा मात्रै क्षेत्र कायम भयो । यसले चुनावमा नतिजा कल्पना गरेभन्दा फरक आउने पक्का छ । नयाँ शक्ति लिएर माओबादीबाट भट्टराई टाढिएपछि गोरखामा दुवै शक्ति कमजोर सावित भएका छन् । त्यसको जवाफ स्थानीय चुनावले दिईसकेको छ । ११ स्थानीय तहमध्ये दुवै नगरपालिका सहित ९ स्थानीय तह काँग्रेसको पोल्टामा प¥यो । माओबादीले मुश्कीलले २ क्षेत्रमा जित निकाल्यो । पुर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आफ्नै स्थानीय तह पनि जिताउन सकेनन् ।
यसपछि अहिले अर्को तरङ्ग सुरु भएको छ । उबेला माओबादीको किल्ला मानिने गोरखा त्यसमा पनि अहिलेको २ नम्बर क्षेत्र निकै संबेदनशिल रुपमा उपस्थित भएको छ । यो क्षेत्रमा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ आमने सामने हुँदैछन् । बाबुराम र नारायणकाजी एउटै चुनाव क्षेत्रमा प्रतिस्पर्धा गरेको खण्डमा के पक्कापक्की हुनेछ भने दुईमध्ये एक प्रतिनिधी सभाका लागि निर्वाचित हुने छैनन् । अझै फरक नतिजा निष्किएर तेश्रो ब्यक्तिले जित्ने अवस्था पनि सिर्जना हुन सक्छ । यो क्षेत्रमा काँग्रेसले सुरेन्द्र पाण्डेलाई टिकट दिने चर्चा छ ।
गत स्थानीय चुनावमा माओवादी केन्द्रले धेरै आश गरेको जिल्ला थियो, गोरखा । तर, माओवादी र नयाँ शक्तिको भिडन्तको बीचबाट नेपाली कांग्रेस उदायो । अब प्रदेश र संसदको चुनावमा पनि गोरखामा माओवादी र नयाँ शक्तिकै टक्कर हुने देखिएको छ । यो टक्करमा बरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ आफैं चुनावी मैदानमा उत्रने तयारीमा लागेपछि गोरखाको चुनाव थप रोचक मोडमा पुग्नेछ ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । यसअघिको चुनावमा नलडेपनि आफ्नो पक्ष बलियो देखेकै कारण भट्टराईले यो क्षेत्र रोजेका हुन् । तर, भट्टराईले आफ्नै पूर्वसहकर्मी नारायणकाजी श्रेष्ठ प्रकाशसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने छ । माओवादी नेता श्रेष्ठले प्रतिनिधिसभामा गोरखा २ बाटै चुनाव लड्ने मुड बनाएका छन् । श्रेष्ठको जन्मस्थल पनि गोरखा–२ मै पर्छ ।
डा. भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी बनाएपछि दुई नेताबीच गोरखामा प्रतिष्ठाको लडाइँ चल्दै आएको छ । त्यो लडाइँ स्थानीय चुनावमा प्रष्टै देखिन्थ्यो । अब यसको ‘क्लाइमेक्स’ संसदको चुनाव हुनेछ । यसैसाता श्रेष्ठ पार्टी अध्यक्ष प्रचण्ड, रामबहादुर थापा वादल, देव गुरुङ, देवेन्द्र पौडेल लगायतका नेताहरुलाई लिएर गोरखा पुगेका थिए । सोही कार्यक्रममा प्रचण्डले बाबुरामका लागि गोरखा २ छाड्न नसक्ने बताएपछि आपसी टकराव झन् बढी छ ।
स्थानीय चुनावमा खसेको मतका आधारमा विश्लेषण गर्दा गोरखा क्षेत्र नम्बर २ मा नयाँशक्तिको भन्दा माओवादी केन्द्रको नै बढी मत देखिन्छ । तर, बाबुराम भट्टराई नै चुनाव लड्ने भएपछि उनले व्यक्तिगत भोटसमेत तान्ने सम्भावना हुन्छ । तर, राष्ट्रिय राजनीतिमा अहम भूमिका खेल्दै आएका पूर्व उपप्रधानमन्त्री नारायणकाजी नै चुनाव लड्न गइसकेपछि उनले पार्टीको संस्थागत भोटका साथै व्यक्तिगत भोटसमेत तान्न सक्ने अनुमान लगाउन सकिन्छ ।
यो स्थितिमा एउटै चुनाव क्षेत्रमा भिड्नु भट्टराई र श्रेष्ठ दुबैका लागि जोखिमपूर्ण छ । माओवादी केन्द्रले डा. भट्टराईलाई कम आँकेर श्रेष्ठलाई त्यहाँ पठाएको अवस्थामा उनीहरुले डा. भट्टराईलाई हराउन त सक्लान् तर स्थानीय चुनावमा जस्तै दुबै पार्टी हारेर कांग्रेसले बाजी मार्ने अर्को सम्भावना हुनेछ । विगत स्थानीय चुनावको अुनभव हेर्दा बाबुराम र नारायणकाजीले एक अर्कालाई जित्न नसके पनि एकअर्कालाई हराउन सक्ने सम्भावना बलियो देखिन्छ ।
उसो त यही हार्ने÷हराउने डरकै कारण दुई नेताले गोरखा २ मा एकअर्कालाई छाडिदिए हुन्थ्यो भन्न नचाहेका होइनन् । तर, कोही पछि हट्ने पक्षमा छैनन् । स्रोतका अनुसार डा. भट्टराईले अनौपचारिक रुपमा गोरखा २ मा आफू लड्ने भन्दै श्रेष्ठलाई नलड्न आग्रह गर्दै आएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ यो पटक प्रत्यक्ष चुनाव लडेरै छाड्ने मुडमा देखिएका छन् ।