गुरुङ सांसदलाई संघर्ष समितिको चेतावनी-“निहित स्वार्थको पछि नलाग”

पोखरा, असार २० ।
तमुवानको पहिचानलाई नामेट गर्न खोजेको भन्दै गुरुङ सांसद तथा नेता र अन्य ब्यक्तिलाई सच्चिन तमुवान–मगरात संघर्ष समितिले चेतावनी दिएको छ । निहित स्वार्थ पूर्तिका लागि तमुवानको पहिचान मेटाउन खोज्नेहरुलाई तमुहरु नसच्चिए तमुवानको माटो र तमुवान समुदायले दण्डित गर्ने समितिको भनाई छ ।

‘कुनै समयका तमुवान प्राप्तिका लागि नेता, व्याख्यता, अभियन्ता बन्ने अहिले तमुवानको पहिचान मेटाउन षडयन्त्रमुलक ढंगले परिचालित भएका छन् । यिनीहरु तमु समुदायको कलंक हुन्, समितिले भनेको छ–संघीयताको मर्म र राज्यको पुनसंरचनाको आधार बमोजिम प्रदेशको नाम तमुवान मगरात हुनुपर्छ । यसमा सहयोग गरिदिन सबैसँग आग्रह पनि गर्छौं ।’

आफ्ना माग सम्बोधन नभए संघर्ष समितिले पहिचान र अधिकारको आन्दोलन जारी राख्ने निर्णय गरेको छ । संघर्ष समितिकी संयोजक कर्म तमुको अध्यक्षतामा भएको बैठकले पहिचान मेटाउने गरी नामाकरण गरिए त्यसलाई स्विकार नगर्ने चेतावनी दिएको छ ।

प्रदेशको नामाकरणको चर्चा सुरु हुने वित्तिकै तमुवान–मगरात संघर्ष समिति गठन भएर पहिचानमा आधारित नामको माग गरिरहेका छन् । अर्को समूह चाहीँ जातिय नाम राख्दा सबैले अपनत्व गर्न नसक्ने भन्दै साझा नाम राखिनुपर्ने दवाव सहित आन्दोलन गरिरहेको छ । प्रदेशको नामाकरण केही दिनमै टुंगिँदैछ ।