गुण्डा नाइके दीपक मनाङे थुनामुक्त

काठमाण्डौं, पुस ६ ।
गुण्डा नाइके तथा प्रदेश सभा सदस्य दीपक मनाङ्गे थुनामुक्त भएका छन् । ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।

गत मंसिर २८ गते सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र बम कुमार श्रेष्ठको संयुक्त इजिलासले मनाङ्गेलाई रिहा गर्ने आदेश दिएको थियो । दीपक मनाङ्गे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।

ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङ्गे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । आक्रमणमा मनाङ्गे समूहले चक्रेको हात नै छिनाएको थियो । पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडिएको थियो ।

ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङ्गेमाथि जिल्ला अदालत काठमाडौंमा यसै मुद्दा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङ्गेलाई २ वर्ष मात्रै कैद सजाय सुनाएको थियो ।

तर जिल्लाको फैसला चित्त नबुझेपछि सरकारले उक्त मुद्दा पुनरावेदन अदालत पाटनमा दायर गरेको थियो । पुनरावेदनले जिल्ला अदालतको फैसला केही उल्टी गर्दै ज्यान मार्ने उद्योग अन्तर्गत मनाङ्गेलाई ५ वर्षको जेल सजाय तोकेको थियो ।

पुनरावेदनको फैसलाविरुद्ध मनाङ्गे भने सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले गत माघमा पुनरावेदनकै फैसला सदर गर्दै मनाङ्गेलाई ५ वर्षको जेल सजाय हुने ठहर गरेको थियो । त्यसपछि मनाङ्गे डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।

यद्यपि उनले सर्वोच्च अदालतमै पुनरावलोकनका लागि निवेदन दिएका थिए । मुलुकी ऐनको नयाँ व्यवस्थाले १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेरै मुद्दा लड्न पाउने व्यवस्था गरेकाले सर्वोच्चले मनाङ्गेलाई थुना बाहिरबाटै मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्ने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि कारागार प्रशासनले मनाङ्गेलाई शुक्रबार थुनामुक्त गरेको हो । गण्डकी प्रदेशमा मनाङबाट प्रदेश सभामा निर्वा्चित मनाङ्गेले हालसम्म सपथ लिन पाएका छैनन् ।