गुण्डागर्दीको आरोपमा चोरीको फैसला (झुक्कियो कास्की प्रहरी)

पोखरा, साउन ७ ।
कास्कीका सिडियो तारानाथ अधिकारीले झुक्किएर गलत फैसला गरेका छन् । गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न भएको भन्दै १० जनालाई एकैदिन जेल चलान गरिएको छ ।

तर घटनाको प्रकृति नै नहेरीकन दुई जनालाई पनि गुण्डागर्दी गरेको आरोपमा कारबाही अघि बढाईएको हो । सार्वजनिक मुद्धामा म्याद थप गरेर अनुसन्धान भैरहेको सरोज चापागार्इं र चोरीको केसमा पक्राउ परेर अनुसन्धानकै क्रममा रहेका कृष्ण रोकामगरलाई पनि गुण्डागर्दी केसमा फैसला सुनाएर जेल पठाईएको हो ।

‘८ जना एउटै केसका हुन् । तर २ जनाको पहिलेदेखि नै फरक हिसावले म्याद थप र अनुसन्धान चलिरहेको थियो, श्रोतले भन्यो–पछि पेसी एकैदिन परेको हुँदा फरक मुद्धाका मान्छेलाई पनि गुण्डागर्दीको रुपमा फैसला गरेर जेल पठाईयो ।’ उनीहरुका आफन्तले पनि गलत निर्णय भएको भन्दै विरोध गरेका छन् ।

‘सामान्य घटना भएकोले ५÷१० हजार जरिवाना तिराएर छोड्ने चलन थियो । अहिलेसम्म यस्ता घटनाका दोषीलाई जेल पठाएकोजस्तो लाग्दैन, श्रोत भन्छ–हुलमुलमा अन्यायपूर्ण फैसला भयो । उनीहरुको गुण्डागर्दीसँग सम्बन्ध नै छैन ।’

कास्की प्रहरीका प्रबक्ता रवीन्द्रमान गुरुङले चाहीँ फैसला गर्ने अधिकार प्रहरीलाई नभएको भन्दै फैसलाप्रति केही बोल्न नमिल्ने बताए । कास्कीका सिडियो तारानाथ अधिकारीले प्रहरीले पेश गरेको मिसिल हेरेर फैसला गरेको बताएका छन् । ‘अंक अक्षर र घटना एउटै छ । मिसिलमा भएकै घटना हेरेर फैसला गरिएको हो, उनले भने ।’ एसपीकै रोहवरमा फैसला गरेको अधिकारीले बताए ।

एसपी ओम रानाले गुण्डागर्दी नभएपनि अपराध गरेकोले कैद सजाएँ सुनाईएको बताए । ‘गुण्डागर्दी नै नभएपनि उस्तै प्रकृतिको हो, उनले भने–घटना हेरेर नै सजाएँ सुनाईएको हो ।’ उनले प्रहरीको कमजोरी नभएको बताए । रानाले कैद सजाएँ सुनाईएका ब्यक्ति भेट्न जानेहरुलाई पनि पक्राउ गरी तारेखमा छोडेका छन् ।