गावैंभरी ग्राभेलका गोदाम, सरकार चुपचाप (भिडियो हेर्नुस्)

प्रकाश ढकाल
पोखरा, साउन २ ।
पोखराको अधिकांश वडामा यतिबेला जथाभावी ग्राभेल निकाल्ने र मनपरी बेच्ने क्रम बढ्दो छ । विशेषगरी सेती नदी जोडिएका वडाहरुमा यो समस्या अधिक देखिएको छ । पोखराको १, १४, १५, १७, १९, २५, ३३ लगायत वडामा मनपरी नदीजन्य सामाग्री उत्खनन् भैरहेको छ । वडा नम्बर २१ को दोविल्ला, १४ को बाच्छीबुडुवामा नियमविपरित सञ्चालित क्रसर अझै बन्द भएका छैनन् । पोखराको वडा नम्बर १ याम्दीमा रहेको क्रसर भने नियम नपुगेको भन्दै महानगरले यसअघि नै बन्द गरिदिएको थियो ।

नदी दोहन र निजी जमिनमा पनि मापदण्ड पूरा नगरी निर्माण सामग्री उत्खनन् गरिएको छ । पोखरा ३३ भरतपोखरी स्थित पुष्प वस्ती नजिक ठूलो जमिन खनेर घडेरी बनाइएको छ । सरकारसँग अनुमति नलिएको भन्दै गएको साता कास्की प्रहरीले ६ वटा टिप्पर र डोजर नियन्त्रणमा लिएको थियो । त्यसपछि देखिने गरी काम नगरेपनि लुकिछिपी उत्खनन् भैरहेको र जमिन भत्काउने क्रम नरोकिएको स्थानीयहरु बताउँछन् । जमिन खन्दा निस्किएको निर्माण सामग्री नजिकैको जंगलमा गोदाम बनाएर थुपारिएको छ । केही चाहीँ विक्री पनि भैसकेको एक स्थानीयले बताए ।

भरतपोखरीमा समूह मिलेर नदी उत्खनन् गर्ने र बाँझो जमिनमा थुपार्ने चलन धेरै पहिलेदेखिको हो । यो क्रम जनप्रतिनिधी निर्वाचित भएपछि झनै बढेको छ । विना स्विकृति निर्माण सामग्री थुपारेपनि वडा र महानगरले चासो दिएको छैन । ‘भरतपोखरीमा ३÷४ वटा ग्रुप मिलेर काम गरिरहेका छन् । बाँझो जमिनमा थुपार्छन् र फुर्सदमा विक्री गर्छन्, एक स्थानीयले भने–धेरै पटक जनप्रतिनिधीलाई पनि भनिसक्यौं तर टेर्नुभएन ।’ दोविल्लाबाट भरतपोखरी छिर्ने वित्तिकै बाटोको आडमा रहेका अधिकांश घर नजिक ग्राभेल, ढुंगा र बालुवाको गोदाम छ । जग्गाधनीलाई केही रकम दिने र तिनै समूहले अवैध हिसावले विक्री गर्ने गरेका ति स्थानीयले बताए ।

वडाध्यक्ष शिव आचार्य चाहीँ ग्राभेल थुपार्ने क्रम पूरै नियन्त्रणमा ल्याईसकेको बताउँछन् । निर्वाचन भन्दा पहिले दोविल्लामा क्रसर राख्ने मनसायले धेरै मेटेरियल थुपारिएको रहेछ । हामी निर्वाचित भएपछि क्रसर चलाउन दिएनौं, उनले भने–त्यै सामग्रीहरु अहिले विभिन्न बहानामा बेचिएका छन् । नयाँ सामग्री थुपार्न पाएका छैनन् ।’ खानी उत्खनन् ८० प्रतिशत रोकिएको उनको दावी छ । ‘पहिले सार्वजनिक जग्गामा उत्खनन् हुँदा पनि हेरेर बसे । अहिले निजी जग्गामा पनि कडाई गरेका छौं, उनी भन्छन्–छाडापनलाई विस्तारै कानुनी दायरामा ल्याएका छौं ।’

खानीको जमिन जोडिएको ठाउँमा स्थानीयले बलमिच्याईं गरेका भन्दै उनले यसलाई पनि रोक्ने प्रतिबद्धता जनाए । ‘अरु वडालाई हेरेर निर्माण सामग्री निकाल्न पाउनुपर्ने दावी स्थानीयले गर्छन् । सबैतिर रोकिएको भए जनप्रतिनिधीलाई पनि सजिलो हुन्थ्यो, वडाध्यक्ष आचार्यले थपे–अरु वडामा धमाधम गिटी बालुवा निकालेर बेचिएका छन् । मैले मात्रै रोक्न खोज्दा गाह्रो भयो ।’ प्राविधिकको सल्लाहमा वडा तहले नै खानी सञ्चालन गर्न पाउनुपर्ने उनको माग छ ।

महानगरका मेयर मानबहादुर जिसीले भरतपोखरी क्षेत्रमा अधिक उत्खनन् भएको भन्दै तत्काल एक्सनमा जाने बताए । ‘बाटो बनाउने र घडेरी खार्ने भनेर निवेदन दिन्छन् । विकासको काम रोक्ने कुरै भएन, उनले भने–विकास देखाएर विनास गर्छन् । यसलाई रोक्न तल्लो तहको पनि सहयोग चाहिन्छ ।’ विभिन्न चरणमा अवलोकन गरिसकेको भन्दै मेयर जिसीले स्थानीय र जनप्रतिनिधीको सहयोगमा अवैध रुपमा हुने उत्खनन् बन्द गर्ने बताएका छन् । दोविल्लादेखि सुरौंदीखोलाको तिरसम्मै अवैध काम बढिरहेको उनको भनाई छ ।

महानगरपालिकाले बोले अनुसार काम भने गर्न सकेको छैन । अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने यसअघि नै प्रतिबद्धता जनाएपनि कार्यान्वयन अहिलेसम्म भएको छैन । पछिल्लो समय जनप्रतिनिधीकै संलग्नतामा अवैध काम बढ्न थालेको गुनासो सरोकारवालाको छ । पोखरा १४ र २१ को क्रसर सञ्चालनमा वडाध्यक्षले नै स्विकृति दिएका थिए । त्यसबाहेक आफ्नो अधिकार क्षेत्र बाहिरका धेरै कामहरु गर्ने बाटो वडा तहका जनप्रतिनिधीले नै खोलिदिएका छन् । वातावरणीय प्रभाव मुल्याकंन नगरी जवरजस्ती नदी दोहन गर्ने क्रम तुरुन्तै रोक्न स्थानीयको माग छ । गण्डकी प्रदेश सरकारले पनि प्राकृतिक श्रोतमाथी हुने दोहन रोक्न विशेष कार्ययोजना तयार गरेको छ ।