गायिका स्व.पवित्रा गुरुङको श्रद्धाञ्जलीसभा सम्पन्न
पोखरा, २२ फागुन । अल्पायुमै निधन हुनुभएकी गायिका स्वर्गीय पवित्रा गुरुङको ४९ औं दिनको पुण्य तिथिमा विहिवार घान्द्रुक कोट गाँउ लामछाने मुखिया खलक परिवार(घान्द्रुक तोरो घ्रों परिवार)ले पुजाका साथै श्रद्धाञ्जली÷स्मृति सभा सम्पन्न गरेको छ।
मि न्होर्बे ट चलचित्रको गलबन्दी चईस्यो ङोल्स्यो, ङोल्स्यो म्रुस्योको ए ङोलो राजा क्योंलाई, ङै ङोल्योरानी मनकाशी चलचित्रको गीत ङै ङोलो ठागु लगायतका अत्यन्तै चर्चित गीतका गायिका स्वर्गीय गुरुङको माइतीहरुको तर्फबाट पोखरा १०, रामघाट बुद्धशान्ति मार्गस्थित ब्रेज मेश्रों घान्द्रुक तमु समाजमा पुजाका साथै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रममा स्व.गुरुङ दुई बालबच्चा(छोरा र छोरी)को शिक्षा, स्वास्थ्यका लागि ३ लाख २३ हजार ८०५ रुपैया कामना विकास बैंकको मुद्धति खातामा रकम जम्मा गरिएको माइती घान्द्रुक तोरो घ्रों परिवारका एवम ब्रेज मेश्रों घान्द्रुक तमु समाज पोखराका अध्यक्ष हितकाजी गुरुङले कार्यक्रमका जानकारी दिनुभयो। श्रद्धाञ्जली अर्पण गर्दै उहाँले आफ्नो चेलीको नासोको रुपमा रहेको दुई बाबुनानीका लागि शिक्षा र स्वास्थ्यका लागि सक्दो सहयोग गर्ने घोषणा गर्नुभयो। उक्त रकम घान्द्रुक तोरो घ्रों परिवारका सदस्य एवम चेलीबेटीहरुबाट संकलन गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा तमु धिं नेपालका कार्यवाहक अध्यक्ष तथा फोनिज गण्डकी इञ्चार्ज हुमबहादुर गुरुङ, चलचित्र निर्देशक, गीतकार, संगीतकार कृष्णकुमार गुरुङ, गुरुङ फिल्म एशोसियसन(जिफान)का अध्यक्ष भोजबहादुर गुरुङ, त्रिवेणी संगीत प्रशिक्षण केन्द्रका प्रशिक्षक संगीतकार नवराज बराल, गीतकार सुमन श्रापित, घान्द्रुक तोरो घ्रों चेलीवेटीको तर्फबाट सारदा गुरुङले श्रद्धाञ्जली मन्तव्यसहित स्वर्गीय गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
गुरुङ जातिय परम्परा अनुसार लामा गुरुङले गर्नुभएको ४९ दिनको पुजामा स्वर्गीय गुरुङको पति वरिष्ठ संगीतकार तेजेन्द्र गुरुङले पुष्पार्पण तथा दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण पश्चात कार्यक्रममा माइती खलक, आफन्तजन, विभिन्न संघ संस्थाबाट सहभागीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए।
स्वर्गीय गुरुङले दोश्रो सन्तानको रुपमा छोरीको जन्म दिएको दुइदिन पछि उहाँको निधनको पिडामा रहनुभएका पति संगीतकार तेजेन्द्र गुरुङ एवम परिवार, आफन्तजनलाई समवेदना व्यक्त गर्दै सहभागीहरुले सान्त्वना दिएका थिए।