गफ गरेर मुलुक समृद्ध हुँदैन–चालिसे

पोखरा, कार्तिक २७ ।
नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले भाषण र नाराले मात्रै देश समृद्ध नहुने बताएका छन् । पोखरा १६ बाटुलेचौरमा चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनतालाई भाषणमा अल्मल्याएर कम्युनिष्टहरुले आफ्ना लागि राज्यको ढुकुटी रित्याउने काम गरिरहेका आरोप लगाए ।
‘समृद्ध हुने चाहना गफ गरेर पूरा हुँदैन । पिपलको पात टिपेर पैसा बनाउन सक्दैनौं, उनले भने–हाम्रो राष्ट्र समृद्ध बनाउने बाटो जलविद्युत, पर्यटन, कृषि र जनशक्ति हो । समृद्धी गर्ने भाषणले होईन विकासले हो ।’ उनले सँधै विकासको विरोध गर्ने पार्टी समृद्धीकै नारा लिएर चुनावमा आउनु विरोधाभास कुरा भएको टिप्पणी गरे । ‘कसका कारणले विदेशी पैसा आउन सकेन ? त्यसको जवाफ दिन सक्छन् ? विकासमा विरोध गर्ने र निषेध मात्रै गर्ने राजनीति कसले गरेको छ, उनले प्रश्न गरे–हरेक सम्भावनाको बाधक कम्युनिष्टहरु हुन् ।’
लोकतन्त्रको रक्षा, मानवअधिकारको रक्षा गर्दै समृद्ध नेपाल बनाउने अभियान काँग्रेसको भएको चालिसेको जिकीर छ । ‘यो चुनाव ब्यक्ति र पार्टीको होईन । जनताको जीवनपद्धती र भोली हामी बाँच्ने समाजको छनौटको चुनाव हो, उनी भन्छन्–नेपाली काँग्रेसको उम्मेदवार होईन, २ करोड ८० लाख नेपाली जनताको स्वतन्त्रताको चुनाव हो । प्रजातन्त्रको चुनाव हो ।’
कम्युनिष्ट गठबन्धनले चुनाव जिते देशभित्रको आन्तरिक पुँजी पलायन हुने र विदेशी लगानी नेपालमा नभित्रिने उनको तर्क छ । राजनीति देश समृद्ध हुने बाटो भएको भन्दै चालिसेले मतपत्रको सुरक्षा र जनता मालिक हो भन्ने मान्यतालाई स्थापित गर्नका लागि भएपनि रुखमा भोट हाल्न आग्रह गरे ।