गण्डकी सरकारले ३० लाख भन्दा साना योजना नबनाउने

पोखरा, असार ३ ।
गण्डकी प्रदेश सरकारले आगामी वर्ष पूर्वाधार तर्फ ३० लाख भन्दा साना योजना नबनाउने घोषणा गरेको छ । आगामी वर्षको बजेट शुक्रबार सार्वजनिक भैसकेको छ । अर्थमन्त्री जित प्रकाश आलेले निकै दवावका बीच पूर्वाधार र सिंचाईंका योजनामा थ्रेस होल्ड कायम गरिएको बताए ।

‘हामीसँग योजनाका चाङ छन् । नेता भएपछि नागरिकले राखेका अपेक्षा पूरा गर्नुपर्छ, योजनाहरु समेट्नुपर्छ । निकै ठूलो दवाव छ,’ उनले भने, ‘तैपनि पूर्वाधार तर्फ र सिंचाईंमा बजेटको थ्रेस होल्ड राखिएको छ ।’ उनका अनुसार पूर्वाधार तर्फ ३० लाख र सिंचाईंका योजनामा १० लाखको थ्रेसहोल्ड कायम गरिएको छ ।

भौतिक पूर्वाधारमा आगामी वर्ष साढे १२ अर्व र उर्जा, खानेपानी तथा सिंचाईं मन्त्रालयमा ५ अर्व बजेट विनियोजन गरिएको छ । त्यसमध्ये सबैखालका सडक, सडक पुल र झोलुंगे पुल निर्माण गर्न सवा ११ अर्वको बजेट छ । सिंचाईंका मात्रै काम गर्न १ अर्व २४ करोड छुट्याइएको छ ।