गण्डकी सरकारले १३ वटा नयाँ कार्यालय खोल्ने (कुन जिल्लामा कुन कार्यालय ?)

पोखरा, मंसिर ११ ।
गण्डकी प्रदेश सरकारले १३ वटा नयाँ कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न जिल्लामा इकाई कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

प्रदेशभित्र पूर्वाधार तर्फका ६ वटा र खानेपानी तथा सरसफाई तर्फका ७ वटा इकाई कार्यालय स्थापना गरिने प्रबक्ता बस्नेतले जानकारी दिए । उनका अनुसार इकाई कार्यालयहरु यसअघि स्थापना भएका डिभिजन कार्यालय नभएका जिल्लामा राखिनेछन् ।

सरकारलाई थप आर्थिक भार नपर्ने गरिन कार्यालय स्थापना हुने उनको भनाई छ । यसअघि भौतिक पूर्वाधार विकासतर्फ नवलपुर, लमजुङ, कास्की, पर्वत र म्याग्दीमा डिभिजन कार्यालय स्थापना भैसकेका छन् । इकाई कार्यालयहरु मुस्ताङ, बागलुङ, मनाङ, तनहू, गोरखा र स्याङजामा खोलिने छन् ।

यस्तै, खानेपानी तथा सरसफाई तर्फ गोरखा, तनहूँ, स्याङजा र बागलुङमा डिभिजन कार्यालय खुलिसकेका छन् । इकाई कार्यालयहरु चाहीँ मनाङ, नवलपुर, लमजुङ, कास्की, पर्वत, म्याग्दी र मुस्ताङमा खोलिनेछन् । सरकारले जनतालाई सहज पहूँच पुुग्ने गरि नजिकबाट सेवा लिने ब्यवस्था मिलाउन लागेको बस्नेतले बताए ।

‘गणतन्त्र आयो अव घरबाटै सेवा लिन पाईन्छ भनेर अपेक्षा गरेका जनलाई सेवा कार्यालयहरु टाढा भए । पहिलेको जिल्ला कार्यालयहरु पनि खारेज गरिएका छन्, उनले भने–अहिलेको संरचनाले जनतालाई पहिले भन्दा पनि दुख भएको छ । हामी यसै टुलुटुलु हेरेर बस्न सक्दैनौं । जतिसक्दो सेवा प्रवाहलाई चुस्त बनाउने हो । जनताको नजिक पु¥याउने हो ।’