गण्डकी मेडिकल कलेज ठगी प्रकरण–सञ्चालकलाई पक्रिने बाटो खुल्यो

पोखरा, फागुन ३० ।
५३ करोड भन्दा बढी ठगी गरेको आरोप लगाउँदै गण्डकी मेडिकल कलेजका विद्यार्थीले सञ्चालक विरुद्ध दिएको उजुरी कार्यान्वयन हुने भएको छ । विद्यार्थीहरुले ११ जना सञ्चालक विरुद्ध ठगी मुद्धामा सम्पत्ति शुद्धिकरण विभाग र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले १० जना सञ्चालक विरुद्ध फागुन २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरेकै दिन कलेजका पूर्व सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै कलेजका अध्यक्ष खुमा अर्याल सहित ६ जना सञ्चालकले वारिस मार्फत पक्राउ पुर्जी खारेज गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट हालेका थिए । बुधबार र विहिबार २ दिनसम्म भएको बहसपछि अदालतका मुख्य न्यायधिश कुमार चुडाल र न्यायधिश रामचन्द्र यादवको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नुनपर्ने भन्दै कानुन अनुसार प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको छ ।

‘दुवै पक्षका अधिवक्ताहरुको बहस सुनियो । अदालतको अनुमतिले प्रतिवादीमध्येका लक्ष्मण शर्मा र सन्तोष खनाल उपर अदालतको अनुमतिले पक्राउ पूर्जी जारी भएको देखिन्छ, आदेशमा भनिएको छ–निवेदकहरुमाथी कास्की जिल्ला अदालतबाट फागुन २३ गते अनुमति लिएर पक्राउ पुर्जी जारी भएको र निवेदकहरुको ‘अनडिस्पुटेवल लिगल राईट’ मा आघात पर्ने आशंकाको विद्यमानता भएको भन्ने नदेखिँदा माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । कानुन बमोजिम गर्नु ।’

सञ्चालकको तर्फबाट शम्भु थापा, दीपक शर्मा, रमण श्रेष्ठ र पूर्ण राजबंशीले बहस गरेका थिए भने विपक्षी जिल्ला सरकारी वकिल कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्याल्य, जिल्ला अदालतको पक्षबाट उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिबक्ता नरेन्द्रबहादुर चन्द र उपन्यायधिबक्ता खेमराज पाठक तथा विद्यार्थीहरु अनित सिन्हा, अंकित शर्मा र सम्राट पराजुलीको तर्फबाट तिलक पराजुली, ओमप्रकाश अर्याल र भगवती पहारीले बहस गरेका थिए ।

अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताए । ‘पावरले कानुन मोडिँदैन भन्ने प्रमाण हो यो । कानुन कार्यान्वयनमा हामीलाई पनि सहयोग मिलेको छ, उनले भने–पक्राउ पुर्जी जारी गरिएकाहरुको खोजतलास ब्यापक भैरहेको छ । जतिसक्दो छिटो समातेर अनुसन्धान अघि बढाउँछौं ।’ २ जना बाहेक अरु सबैजना फरार रहेको उनले बताए । विद्यार्थीहरुले अध्यक्ष खुमा अर्याल सहित ११ जना विरुद्ध ठगी मुद्धामा उजुरी गरेका थिए ।

प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा कर्मचारी हरिमाया पौडेल, प्रशासनका कर्मचारी दिनेश पौडेल, कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल, कृष्ण घिमिरे र विश्वराज घिमिरे विरुद्ध उजुरी छ । त्यसमध्ये पूर्व सिईओ खनाल र परीक्षा नियन्त्रक शर्मा पक्राउ परिसकेका छन् । उच्च अदालतको यो फैसलासँगै विद्यार्थीले ठगी मुद्धामा किटानी जाहेरी दिएका ९ जना कुनैपनि बेला पक्राउ पर्न सक्नेछन् । कलेज प्रशासनले अनधिकृत रुपमा बढी रकम असुलेको भन्दै गत माघ १७ गतेदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरुको आन्दोलनले कलेज पूर्ण रुपमा ठप्प छ भने अस्पतालको ओपिडि सेवा पनि रोकिएको छ । एमविविएस तेश्रो बर्षका ८३ विद्यार्थीहरुले फाईनल परीक्षा समेत दिएका छैनन् ।