गण्डकी मेडिकल कलेजको अस्पतालमा तालाबन्दी

पोखरा, माघ २३ ।
गण्डकी मेडिकल कलेजद्धारा सञ्चालित अस्पतालमा विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । मनपरि शुल्क असुलेको आरोप सहित रकम फिर्ता गर्न माग गर्दै उनीहरुले मंगलबार नयाँ बजार स्थित अस्पतालको ओपिडी कक्ष र मेडिकल सुपरिटेण्डेन्टको कार्यकक्षमा तालबन्दी गरेका हुन् । एक साता अघि देखि उनीहरु चरणबद्ध आन्दोलनमा थिए । आफ्नो माग सुनुवाई नगरेको भन्दै एक विज्ञप्ती निकालेर विद्यार्थीहरुले तालाबन्दी गरिदिएका हुन् । यसअघि रिठ्ठेपानीमा रहेको कलेजमा पनि तालाबन्दी गरेका थिए ।

‘शीर्षक विना शिक्षाको नाममा विद्यार्थीसँग लाखौं रकम असुल गर्दै आएको छ । यसबारे विद्यार्थीहरुले बारम्बार आफ्ना कुरा राखिरहँदा पनि समस्या समाधानमा गम्भीर बनेन, विज्ञप्तीमा भनिएको छ–हाम्रा माग पूरा नभएसम्म ताला खुल्दैन । विद्यार्थीको सहमति बेगर ताला खोलेमा त्यसको नोक्सान कलेज प्रशासन आँफैले ब्यहोर्नुपर्नेछ ।’ उनीहरुले अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने र विद्यार्थीहरुले तिरेको सम्पूर्ण रकमको विल तत्काल उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

विद्यार्थीको मागबारे मंगलबार कलेजको बोर्ड बैठक बसेको थियो । बैठकले विद्यार्थीको माग सम्बोधन हुने खालका निर्णय नगरेकोले तालाबन्दी गर्नुपरेको उनीहरु बताउँछन् । ‘पहिले लिएको अतिरिक्त शुल्कबारे छानवीन गरेर बढी शुल्क फिर्ता गर्नुपर्ने हाम्रो मुख्य माग हो । त्यही बुँदामा सहमति हुन सकेन, एक विद्यार्थीले भने–बोर्डले गरेको प्रश्तावमा हाम्रो माग सम्बोधन हुँदैन । बढी शुल्क फिर्ता गर्ने बुँदा नभएकोले विद्यार्थीले स्विकार गरेनन् । आन्दोलन निरन्तर छ ।’ कलेज प्रशासनले मंगलबार ११ बजे बार्ता गर्न विद्यार्थीलाई बोलाएको थियो । तर कलेज प्रशासनको प्रतिनिधि नै उपस्थित नभएपछि बैठक बस्न सकेन । कलेजमा भएको आन्दोलन र अतिरिक्त शुल्क बारे चिकित्सा शास्त्र अध्ययन संस्थानले पनि ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार कलेजको नाममा पत्र लेखेर संस्थानले तत्काल पठनपाठन सूचारु गर्न र सरकारले तोके अनुसारकै शुल्क लिन निर्देशन गरेको हो । ‘त्रिभुवन विश्वविद्यालयले तोकेको शिक्षण शुल्क भन्दा अतिरिक्त रकम माग गरेको कारण देखाई विगत केही दिन देखि कलेज बन्द गरि हड्तालमा उत्रेको भन्ने जानकारी प्राप्त हुन आएको छ । सो सम्बन्धमा यथार्थ जानकारी यथाशक्य छिटो उपलब्ध गरार्यदिन अनुरोध गर्दछु, सहायक डीन प्राडा राजेन्द्र प्रसाद गुरागाईंद्धारा जारि विज्ञप्तीमा भनिएको छ–सरकारले तोके अनुसार नै शुल्क लिने ब्यवस्था गर्न र विद्यार्थीको पठनपाठन सुचारु हुने ब्यवस्थ ागर्न अनुरोध गर्दछु ।’

कलेजका अध्यक्ष खुमाप्रसाद अर्याल चाहीँ अहिलेको समस्या बोर्डले नभई टियुले टुंग्याउनुपर्ने बताउँछन् । ‘जिल्ला प्रशासन बोलेर पनि हुँदैन । डीन कार्यालयले बोलेर पनि हुँदैन । यो निर्णय गर्ने भिसीले हो, उनले भने–कार्यकारीले गरेको निर्णय हामी मान्छौं । विद्यार्थीका माग र कलेजका कागजात पनि संस्थानमा पठाउन भनेको छु ।’ कलेजमा हुने खर्चका आधारमा नियम अनुसार नै विद्यार्थीसँग शुल्क लिएको उनको दावी छ । ‘विद्यार्थीले गर्ने खर्चको आधारमा शुल्क लिएको हो । आन्दोलन गरेर केही हुनेवाला छैन, उनले भने–हामी नियमअनुसार चलेका छौं । गल्ती भए टियूले छानवीन गरेर कारबाही गर्छ ।’

कलेजले प्रति विद्यार्थी हरेक बर्ष १ देखि ३ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीहरुले आरोप लगाएका छन् । नर्सिङततर्फ आईओएमले ४ बर्षका लागि ७ लाख ४८ हजार र एमविविएसतर्फ ५ बर्षका लागि ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर कलेजले आईओएमको मापदण्डभन्दा ५ देखि १५ लाख रुपैयाँ बढी रकम मागेको उनीहरुले बताए ।