गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्याल सहित ९ कर्मचारी धरौटीमा छुटे

पोखरा, बैशाख ९ ।
ठगी आरोपमा विद्यार्थीले उजुरी गरेपछि कास्की प्रहरीले पक्राउ पुर्जी जारी गर्यो । फागुन २१ गते पक्राउ पुर्जी जारी भएपछि गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल सहित ११ कर्मचारी फरार भए ।

पक्राउ पुर्जी काटेकै भोलिपल्ट कास्की प्रहरीले २ जनालाई पक्राउ गर्यो । उनीहरुलाई लामो वहस पछि कास्की जिल्ला अदालतले जनही १७ लाख धरौटीमा चैत १८ गते नै छोडिदियो । पूर्व सिईओ डा. सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा उतिबेला छुटेका थिए । त्यसपछि फरार कर्मचारीहरु अदालत हाजिर भएर धरौटीमा रिहा भएका छन् ।

जिल्ला न्यायधिश लालकाजी श्रेष्ठको इजलासले आरोपी मध्ये ९ जनालाई जनही धरौटीमा रिहा गर्ने आदेश दिएको र सोही अनुसार छुटिसकेका जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए । उनका अनुसार सोमबार कलेजका अध्यक्ष खुमा अर्याल रिहा भएका छन् ।

उनी वकिल सहित सोमबार नै अदालतमा हाजिर भएका थिए । यसअघि कलेजका कर्मचारीहरु दिनेश पौडेल, युवराज शर्मा, कृष्णप्रसाद पौडेल र हरिमाया पौडेल पनि एकसाता अघि रिहा भएका हुन् ।

प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठ र अर्का कर्मचारी विश्वराज घिमिरे अहिलेसम्म पनि फरार छन् । विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा सञ्चालकविरुद्ध उजुरी दिएका थिए । कलेज सञ्चालक विरुद्ध १ करोड ८२ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । सोही आधारमा प्रत्येक आरोपीसँग १७ लाखका दरले धरौटी मागिएको हो ।

सोही उजुरी पछि प्रहरीले जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरेको हो । तर कलेज प्रशासनले चाहीँ आँफुहरुले ठगी नगरेको र नियमपुर्वक लिन पाउने रकम मात्रै लिएको दावी गर्दै आएको छ । धरौटीमा रिहा भएपनि मुद्धाबाट पूर्ण छुटकारा भने पाईसकेका छैनन् । स्पष्ट छानविन हुनुपर्ने र बढी रकम लिएको भेटिए फिर्ता गर्ने प्रशासनको प्रतिबद्धता छ ।