गण्डकी प्रदेश सहित चार प्रदेशमा यो वर्षकै ठूलो बर्षा हुने

पोखरा, असार २५ ।
गण्डकी प्रदेश सहित चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भए पछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ सचेत रहने आग्रह गरेको छ ।

असार २५ देखि २८ सम्म गण्डकी प्रदेश, प्रदेश नम्बर १, २, बागमतीमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ । त्यसैले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

सरकारले यसवर्ष असारमा आधारित विपद्को सूचना प्राणाली व्यवस्थापन गरिएको छ। त्यसैले पानीपर्ने सम्भावना छ मात्रै नभनी कुनकुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको मृत्यु भएको छ । यसवर्ष मनसुनका समयमा औसत वर्षा हुने मौसम विभागले भनिसकेको छ ।

औसत वर्षा पनि कुनै समय कम पानी पर्ने र कुनै समय भारी वर्षा हुनसक्ने विज्ञले बताएका छन् । भारी वर्षाले ठाउँठाउँमा बाढी, डुबान र पहिराको जोखिम बनाइसकेको छ। पहाडी क्षेत्रमा साना तथा खहरे खोला र नदीनालाको बहाव बढ्न थालेको छ ।