गण्डकी प्रदेश–सरकारी गाडीमा सचिवको मनपरी

पोखरा, पुस १७ ।
गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले सरकारी गाडी ललितपुर स्थित घरमै लगेर थन्काए । यो विषयमा पुस ११ गते नागरिकले समाचार प्रकाशन गरेपछि १२ गते नै उक्त ग १ झ ३४५ नम्बरको ह्याचब्याक कार पोखरा आयो ।

यो बाहेक ग १ झ ३४४ नम्बरको ह्याचब्याक कार पनि खड्काले प्रयोग गर्दै आईरहेका छन् । यी दुई कार प्रदेशसभा सचिवालयले गत साल किनेको हो । प्रतिकार ३२ लाख ५० हजार रुपैयाँका दरले प्रदेशसभाले कुल ६५ लाख रुपैयाँ खर्चेर किनेको कार सचिव खड्काका छोराले समेत प्रयोग गर्दै आईरहेका थिए । स्रोतका अनुसार सचिव खड्काले काठमाण्डौ जाँदा लगेको कार आफ्ना छोरालाई दिएर आएका थिए ।

गत मंसिर २१ गते सचिव खड्काका छोराले अन्य युवतीहरुसँग ग १ झ ३४४ नम्बरको कार लिएर बेगनास तालको शयर समेत गरेका थिए । छोराले प्रयोग गर्ने कार रातारात पोखरा झिकाईएतापनि पुनः आईतबार खड्का फेरि गाडी लिएर काठमाण्डौ गएका छन् ।

नेपाल सरकारले सहसचिव सरहको कर्मचारीलाई दिने सुविधा अनुसार खड्काले एउटामात्र गाडी प्रयोग गर्न पाउँछन् । नियमानुसार उनले सरकारी गाडी प्रदेशका ११ जिल्लाभन्दा बाहिर लैजान पाउँदैनन् । ‘मुग्लिङ कटाउन पाईँदैन्, तर सचिवले भने अधिकार क्षेत्रभन्दा बाहिर गएर मनपरि रुपमा सवारी दुरुपयोग गरेका छन्,’ सचिवालयका एक अधिकारीले भने, ‘सरकारी सम्पत्ति यसरी दुरुपयोग गर्न पाईँदैन, प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार अनुसार सचिवको यो कार्य नियमविपरित हो ।’

दुई ह्याचब्याक कार बाहेक सचिव खड्काले बा १ झ ९६५९ नम्बरको गाडी पनि प्रयोग गर्दै आईरहेका छन् । यो गाडी प्रदेशसभा सचिवालयको जिन्सीमा उल्लेख छ । तर, उनले तीनवटा गाडी प्रयोग गरेका छन् । प्रदेशसभा सचिवालयको सम्पत्तिमा सचिवले मनलाग्दी गरेका छन् । यही गाडी प्रदेशसभा परिसरमै सिक्ने क्रममा कुच्चिएको पनि छ । गाडी मर्मत, दोहोरो आवतजावतमा भएको ईन्धन खर्च सबै प्रदेशसभा सचिवालयले तिर्दै आएको छ ।

सवारी दुरुपयोगको विषयमा सभामुख नेत्रनाथ अधिकारीले सम्झाउँदा पनि उनले टेरेका छैनन् । ‘सभामुखले पटकपटक भनिरहनुभएको छ, तर सचिवले टेरपुच्छर लगाएका छैनन्,’ ती अधिकारीले भने ।

आँफै स्विकृत गर्दै भ्रमण भत्ता खाँदै

कार्यक्षेत्र बाहेक अन्य जिल्लामा जाँदा प्रदेश प्रमुख सचिव वा सभामुखले भ्रमण आदेश स्विकृत गर्नुपर्छ । तर, सचिव खड्का भने बेजिल्ला (गण्डकी प्रदेश बाहिर) भ्रमणमा जाँदा पनि आफैले भ्रमण स्विकृत गरेर जाने गरेका छन् । सभामुख र प्रमुख सचिवसँग परामर्श नै नगरी खड्काले मनपरि रुपमा भ्रमण आदेश स्विकृत गर्दै भत्ता बुझ्दै आएका छन् ।

प्रशासकीय अधिकारीको काम, कर्तव्य र अधिकारमा उल्लेख भएअनुसार एकपटकमा कार्यक्षेत्रभित्रका जिल्लामा ७ दिनसम्म भ्रमण गर्न पाईन्छ । सचिव खड्का चाहिँ महिनामा दुईपटक सम्म काठमाण्डौ गएका छन्, त्यो पनि १० दिनको टिओ स्विकृत गरेर । प्रदेशसभा सचिवालयले सचिव खड्काको बेजिल्लाको भत्ता समेत दिँदै आएको छ ।

सचिवालयका एक कर्मचारीले भने, ‘आफैले भ्रमण आदेश स्विकृत गरेर जाने गरेका छन्, त्यसबापतको भत्ता प्रदेशसभा सचिवालयले दिँदै आएको छ ।’ ती कर्मचारीका अनुसार प्रदेशभित्र आफैले स्विकृ गर्न पाउने भएतापनि कार्यक्षेत्र भन्दा बाहिरको हकमा भने प्रदेशको प्रमुख सचिव अथवा सभामुखसँग स्विकृत गराउनुपर्ने हो । तर, खड्काले एकल रुपमा निर्णय गरेर सुविधा लिँदै आएका छन् ।