गण्डकी प्रदेश–ईन्धनमा पनि दोहोरो सुविधा लिन्छन् मन्त्री

पोखरा, पुस ३० ।
गण्डकी प्रदेशका मन्त्रीहरुले इन्धनमा पनि दोहोरो सुविधा लिएको भेटिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बाहेक सबै मन्त्रीहरुले मन्त्रालयबाट इन्धन प्रयोग गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्रदेशका सबै भन्त्रीहरुलाई जनही १ सय ५० लिटरका दरले इन्धन खर्च उपलब्ध हुन्छ ।

तर यसले नपुगेको भन्दै सबै मन्त्रीहरुले आफ्नै मन्त्रालयबाट पनि इन्धन प्रयोग गरेका छन् । मुख्यमन्त्री गुरुङले चाहीँ मन्त्रालयबाटै इन्धनको कुपन लिने गरेका छन् । उनलाई २ सय ५० लिटर इन्धन सुविधा छ ।

२ सय ५० लिटर भन्दा बढी खर्च भए उनले आफ्नै खर्चमा इन्धन चलाउने गरेको मन्त्रालयले जनाएको छ । तर अन्य मन्त्रीहरुले चाहीँ मुख्यमन्त्रीको कार्यालयबाट प्राप्त १ सय ५० लिटर बाहेक झण्डै १ सय लिटरसम्म इन्धन आफ्नै मन्त्रालयबाट प्रयोग गरिरहेका छन् ।

 

सुविधाको इन्धनले पोखरा उपत्यकाभित्र पनि नपुग्ने भन्दै बाहिरी जिल्लामा जाँदा मन्त्रालयबाटै तेल हाल्ने गरेको सम्बन्धित मन्त्रालयका लेखा शाखाले जनाएका छन् । ‘मन्त्रीज्यू एकपटक जिल्ला जाँदा ५०/६० लिटर तेल राख्नु हुन्छ । तर त्यो ठूलो कुरा होइन, प्रदेशका ६ वटै मन्त्रालयका लेखा अधिकृतहरुले भने–अरु प्रदेशमा जस्तो ठूलो मात्रामा इन्धन सुविधा लिनु भएको छैन ।’

फिल्ड भ्रमण, अनुगमन, मतदाताले बोलाएको ठाउँमा जानुपर्दा नपुगेमात्रै मन्त्रीज्यूलाई इन्धन दिने गरिएको एक लेखा अधिकृतले बताए । सबै मन्त्रालयमा पुग्दा मासिक ८०/९० लिटर लिएको पाइएको भेटिएको छ ।