गण्डकी प्रदेशसभामा बल्ल मिल्यो एमाले र माओवादी–प्रमुख सचेतक अधिकारी, सचेतकमा गुरुङ

पोखरा, पुस २४ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाको संसदीयदलको बैठकले दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा बसेको दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङ (कुसुम) लाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिए ।

अधिकारी लमजुङबाट समानूपातिक सांसद हुन् भने गुरुङ कास्कीकी समानुपातिक सांसद । साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भईसकेका थिए । यसअघि माओवादीतर्फको सचेतकमा चन्द्रबहादुर बुढा थिए भने एमालेले सचेतक तोकेको थिएन ।

बैठकले दलको उपनेता भने चयन गरेको छैन । उपनेता छान्न अझै केही समय लाग्ने बताईएको छ । उपनेतामा साविक एमालेबाट किरण गुरुङको नाम छ । तर माओवादीतर्फबाट पनि उपनेतामा दावी रहेकोले अहिले नै टुंगिने अवस्था नबनेको हो । अवदेखि एमाले र माओवादी एउटै पार्टी हुनेछन् । दुईवटा पार्टीको नामबाट पाउने उनीहरुको सुविधा पनि खोसिनेछ ।