गण्डकी प्रदेशमा नेकपा एकीकरण–कुन जिल्ला कुन पार्टीलाई

पोखरा, भदौ २ ।
साविक नेकपा एमाले र माओबादी केन्द्रबीच एकीकरण भएपछि हाल जिल्ला र प्रदेश र स्थानीय तहमा संगठन निर्माणको काम चलिरहेको छ । भ्रातृ संगठनहरु पनि मर्ज हुने क्रममा छन् । भदौ पहिलोसाता भित्रै पार्टीको प्रदेश र जिल्ला तहको एकता प्रक्रिया टुंग्याउने नेकपाको तयारी छ ।

सहमतिमै एकता टुंग्याउने बताएपनि गण्डकी प्रदेशका अधिकांश जिल्लामा सहमति हुन सकेन । साविकका दुवै पार्टीले नेतृत्वमा दावी गरेपछि अनुपात मात्रै टुंग्याएर प्रदेशलाई सिफारिस गरिएको छ । गण्डकी प्रदेश अध्यक्षमा माओवादी नेता हितराज पाण्डेको सम्भावना बढी छ । यद्यपी एमालेका प्रदेश संयोजक समेत रहेका गण्डकी प्रदेशका अर्थमन्त्रीको नाम पनि चर्चामा छ ।

तर नेकपाले जनप्रतिनिधीलाई कार्यकारी पद नदिने निर्णय गरेपछि उनको सम्भावना घटेको छ । माओवादीबाटै सांसद हरिराज अधिकारी र एमालेतर्फका तुलबहादुर गुरुङको नाम पनि चर्चामा छ । जिल्ला इन्चार्जहरू भने केन्द्रीय कमिटीले तोक्नेछ । जिल्ला तहमा प्रदेशका ७ वटा जिल्ला एमाले र ४ वटा माओवादीले राख्ने बुझिएको छ । माओावादीले ५ वटा जिल्लामा दावी गरेपनि अन्तिममा ७–४ को समीकरणमा टुंगिने सम्भावना रहेको श्रोत बताउँछ ।

कास्कीमा एमाले
दुवै पार्टीले नेतृत्व दावी गरेपछि कास्कीमा एकीकरण झनै पेचिलो बनेको छ । यद्यपी जिल्लाको नेतृत्व एमालेलाई दिने तयारी बुझिएको छ । एमालेबाट सांसद तथा साविक जिल्ला अध्यक्ष कृष्ण थापा सँगै सचिव दामोदर बैरागी र नेता तेजनारायण अधिकारीको नाम चर्चामा छ । उता माओवादीका बखानसिंह तमुले पनि नेतृत्वमा दावी गरेका छन् । एमालेले जिल्ला नेतृत्व पाए बैरागीको नाम सबैभन्दा अगाडी छ । एमालेले जिल्ला र महानगर दुवै आफूलाई चाहिने बताएको छ भने माओवादीले दुईमध्ये एउटा आफुलाई दिनुपर्ने अडान लिएको छ । कास्कीमा एमालेलाई ५७ र माओवादीलाई ४३ अनुपातमा सदस्य टुंग्याईएको छ ।

गोरखामा माओवादी
राजनीतिक हिसावले गोरखामा एमाले भन्दा माओवादी माथी छ । त्यसैले नेतृत्वमा माओवादीको दावी छ । श्रोतका अनुसार अध्यक्ष र इञ्चार्ज दुवै माओवादीले मागेको छ । जिल्ला इन्चार्जमा माओवादीका नेता कृष्ण धिताल हुने पक्का भइसकेको नेता चुडामणि खड्काले बताए । अध्यक्षका लागि भने माओवादीभित्रै लविङ चलिरहेको छ । लोकप्रसाद बञ्जरा र जगन्नाथ खनालको नाम अध्यक्षमा सुनिएको छ । बञ्जराको सम्भावना बलियो रहेको श्रोतको भनाई छ । एमालेले सचिवमा चाहीँ यादव बस्नेत, सम्झना देवकोटा र हालका अध्यक्ष प्रेम गुरुङ मध्ये कुनै एकलाई अघि सार्नेछ । जिल्ला कमिटीको नाम चाहीँ टुंगिसकेको छ ।

तनहुँमा एमाले
तनहुँको अध्यक्ष एमालेलाई दिईएको बुझिएको छ । सचिव माओवादीलाई परेको छ । सहमति अनुसार अध्यक्षमा एमाले र सचिवमा माओवादीका नेताहरुले मात्रै दावी गरेका छन् । अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भगवति न्यौपाने र विष्णुभक्त सिग्देलले अध्यक्षमा इच्छा देखाएका छन् । त्यस्तै सचिवमा मदन आले, अतिन्द्रकेशरी न्यौपाने, ओमकुमारी पौडेल र हेमराज लामिछानेको नाम चर्चामा छ ।

लमजुङलाई सकस
लमजुङमा नेतृत्व चयन गर्न निकै सकस देखिएको छ । दुवै पार्टीको बलियो उपस्थिती रहेको लमजुङमा दावी पनि बलियो छ । एमालेका कृष्णप्रसाद अधिकारी र माओवादीबाट पारसमणि पौडेल अध्यक्षका प्रतिश्पर्धामा छन् । सचिवमा एमालेका नेता राजकुमार विष्ट र सुवास पौडेल छन् भने माओवादीका लालबहादुर गुरुङ र सुनील सुनारको नाम पनि चर्चामा छ ।

मनाङमा सहज
मनाङमा अध्यक्षको दावी गर्नेमध्येबाटै एकजनालाई सचिव बनाईने छ । अध्यक्षको लागि दुबै पार्टीका एक÷एक जनाले दाबी गरेका छन् । एमालेका ट्रिपल गुरुङ र माओवादीका कपिल गुरुङ मध्ये एक जनालाई अध्यक्ष र एक जनालाई सचिब बनाउने तयारी रहेको नेकपा स्रोतले जनाएको छ ।

स्याङजामा दावेदार बढी
१ सय ४० सदस्यीय जिल्ला कमिटी रहने स्याङजामा दावेदार धेरै छन् । नेतृत्वका लागि माओवादी केन्द्रका तीन जना र एमालेबाट दुई जना नेताहरूको नाम सिफारिस भएको छ । एमालेका उदय श्रेष्ठ र कृष्ण खाँडको तथा माओवादीका शैलेन्द्र घिमिरे, शोभाखर भण्डारी र तारा भुसाल प्रतिश्पर्धी छन् । सचिवमा एमालेबाट राजेन्द्र डुम्रे र माओवादीका सूर्यप्रसाद गैरे र प्रकाश न्यौपानेको नाम सिफारिस भएको छ । एमालेलाई सचिव र माओवादीलाई अध्यक्ष दिने सहमति हुन लागेको श्रोत बताउँछ ।

पर्वतलाई कठीन
दावेदार धेरै भएपछि पर्वतलाई एकता प्रक्रिया सकसपूर्ण छ । अध्यक्ष र सचिवका लागि दावी गरेका ८/८ जनाको नाम प्रदेशमा पठाईएको छ ।

बागलुङले २ जना पठायो
बागलुङले अध्यक्ष र सचिवमा दुई/दुई जनाको नाम सिफारिस गरेको छ । एमालेबाट कृष्ण पाठक र माओवादीबाट ज्ञामनाथ गैरे र सचिवमा एमालेबाट लालबहादुर थापा र माओवादीबाट राजीव घिमिरेको नाम प्रदेश कार्यदलमा पठाइएको छ ।

म्याग्दीमा अध्यक्ष मात्रै सिफारिस
अध्यक्षका आकांक्षीलाई नै सचिव बनाईने भएपछि म्याग्दीबाट दुईजनाको नाम सिफारिस भएको छ । अध्यक्षमा एमालेबाट हरिकृष्ण श्रेष्ठ र माओवादीबाट गोविन्द पौडेलको नाम सिफारिस भएको छ ।

मुस्ताङमा सर्वसम्मत
मुस्ताङको नेतृत्वमा सर्वसम्मत निर्णय भएको छ । एमालेका नेता रमेश भट्टचन मुस्ताङको अध्यक्ष बनेका छन् । दुई पार्टीबीच सहमतिमै अध्यक्षमा उनको मात्र नाम सिफारिस भएको छ । सचिव आफ्नो भागमा पारेको माओवादीले नाम टुंग्याउन सकेको छैन । सचिवका लागि छ जनाले इच्छा देखाएपछि सबैको नाम प्रदेश कार्यदलमा आइपुगेको छ ।

नवलपुरमा आकांक्षी धेरै
प्रदेशको कान्छो जिल्ला नवलपुरमा अध्यक्ष र सचिवका लागि ३/३ जनाले आकांक्षा देखाएका छन् । अध्यक्षका लागि एमालेका दीपक अधिकारी, जीवन श्रेष्ठ र शालिकराम भट्टराईको नाम सिफारिस भएको छ भने माओवादीबाट बालकृष्ण रानाभाट, धनप्रसाद सापकोटा र मित्रशरण शर्माको नाम सिफारिस भएको छ । सचिवमा माओवादीबाट दुईजना र एमालेबाट चार जनाको नाम सिफारिस भएको छ । नवलपुरमा माओवादीलाई नेतृत्व दिन सक्ने बुझिएको छ ।