गण्डकीका ७ ओलम्पिक खेलाडीलाई प्रदेश सरकारले मासिक भत्ता दिने

पोखरा, ३ असार ।
गण्डकी प्रदेशले ओलम्पिकमा सहभागी ७ खेलाडीलाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जीत प्रकाश आलेले मासिक भत्ता उपलब्ध गराउने तयारी भएको बताएका हुन् ।

उनका अनुसार मासिक ५ हजारका दरले भत्ता दिन लागिएको हो । यसअघि ओलम्पियनलाई पोखरामा स्वागत गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । उनकै प्रतिबद्धता अनुसार भत्ता दिन रकम विनियोजन गरिएको आलेले सुनाए ।

५६ वर्षको ओलम्पिक इतिहासमा सात जना ओलम्पियनले गण्डकी प्रदेशको प्रतिनिधित्व गरेका छन् । टिका बोगटी, ज्ञानबहादुर बोहोरा, राजेन्द्र भण्डारी, ऋषि प्रधान, भगवती केसी, सिताराम शाही र नारायण गुरुङ ओलम्पियन खेलाडी हुन् ।