गण्डकी प्रदेशका सामाजिक परिचालकको पोखरा केन्द्रित आन्दोलन, बालबच्चा लिएर धर्नामा

पोखरा, साउन २९ ।
गण्डकी प्रदेशका सामाजिक परिचालकहरुले पोखरा केन्द्रित आन्दोलन सुरु गरेका छन् । आफ्ना माग सम्बन्धीत स्थानीय सरकारले नसुनेको भन्दै उनीहरु प्रदेशको ढोका घचघच्याउन आईपुगेका हुन् । आईतबार प्रदेशसभा नजिकै नदिपुर स्थित सडक छेकेर उनीहरुले नाराबाजी सहित प्रदर्शन गरे । सोमबार उनीहरुले मुख्यमन्त्रीको कार्यालय नजिक धर्ना गरे । गएको पुस १६ देखि जागिर खोसिएपछि निरन्तर आन्दोलन गरेर चैतपछि सरकारले असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो ।

नयाँ आर्थिक बर्ष सुरु भएपछि सरकारले श्रोत जुटाएर सामाजिक परिचालक नियुक्त गर्न स्थानीय सरकारलाई नै जिम्मा दिएको छ । तर स्थानीय सरकारले चाहीँ कर्मचारी आवश्यक नभएको भन्दै सामाजिक परिचालक राख्न मानेका छैनन् ।

‘नयाँ कर्मचारी नथप्ने भए ठीकै छ तर थप्ने हो भने हामीलाई मौका दिनुपर्छ, सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठ भन्छिन्–हामीलाई लखेटेर अरु कर्मचारी भर्ना गर्दा राज्यलाई नै घाटा हुन्छ । हामीलाई सेवा गर्ने मौका दिईयोस् ।’ उनीहरुले एक पटकका लागि उमेर हद नतोकी आन्तरिक परीक्षामा प्रतिश्पर्धा गर्ने अवसर दिनुपर्ने माग राखेका छन् ।‘पूरै समय यही क्षेत्रमा खर्च भयो । अहिले निस्किँदा अन्त जागिर पनि पाईंदैन, उनीहरु भन्छन्–रोजगारी सिर्जना गर्ने नारा दिएर चुनाव जितेको सरकारले भएको रोजगार खोसेर विचल्ली बनायो ।’ माग सुनुवाई नभए आमरण अनसनसम्मका संघर्षका कार्यक्रम उनीहरुको छ ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्तिका प्रदेश सांसद हरिशरण आचार्यले समाजिक परिचालकको माग जायज भएको भन्दै माग सम्बोधन गर्ने बिषयमा आफुँहरु सकारात्मक रहेको बताए । ‘तपाईंहरु राज्यलाई चाहिन्छ । त्यो राज्यले बुझोस्, उनले भने–माग सुनुवाई नभएसम्म तपाईंहरुको आन्दोलनमा नयाँ शक्तिको पनि ऐक्यवद्धता छ । सम्बन्धित निकायमा घचघच्याउने छु ।’

जनमोर्चाकी सांसद पियारी थापाले संसद बैठकमै सामाजिक परिचालकको माग गम्भीर भएर सम्बोधन गर्नुपर्ने माग राखेकी थिईन् । सामाजिक परिचालकहरुले निरन्तर आन्दोलन गरिरहने बताएका छन् । ११ वटै जिल्लाका सामाजिक परिचालकहरु पोखरामा छन् यतिबेला । यो प्रदेशमा ४ सय ८५ जना सामाजिक परिचाकल छन् ।