गण्डकी प्रदेशका सबै मन्त्रालय रित्तै-मन्त्रीलाई उद्घाटनमा हिड्दै ठिक्क, कर्मचारी विदेश भ्रमणमा

पोखरा, मंसिर ६ ।
गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ । चाडपर्वका बेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बुधबार बैठक नबसेका उदाहरण कमै छन् । साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन । कारण, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर रहे ।

मुख्यमन्त्रीले सोमबार गृहजिल्ला लमजुङमा मस्र्याङ्दी महोत्सव उद्घाटन गरे । जिल्ला भ्रमणमा व्यस्त मुख्यमन्त्री गुरुङ बुधबार चाहिँ गोरखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हरि अधिकारीकी छोरीको बिहेमा चितवन पुगे ।

उनीसँगै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर पनि चितवन गए । चितवनबाट मुख्यमन्त्रीसहित ३ जना मन्त्री गण्डकी गाउँपालिकामा आयोजित मुन्थला महोत्सव र होमस्टे उद्घाटनका लागि गोरखा पुगे । अर्थमन्त्री किरण गृहजिल्ला तनहुँको देवघाट पसेर साँझ पोखरा फर्कने क्रममा थिए ।

मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयहरू पुग्दा बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान एकैछिन कार्यालय पसेर तुरुन्तै बाहिरिएका देखियो । सामाजिक विकास मन्त्री नरदेवी पुन पोखराकै कुनै कार्यक्रममा व्यस्त रहेको उनको कार्यालय पुग्दा त्यहाँका कर्मचारीले जानकारी दिए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल थाइल्यान्ड भ्रमण गएका छन् ।

मुख्यमन्त्री र मन्त्रीहरू मात्रै होइन उच्चपदस्थ कर्मचारी पनि कार्यालयमा भेटिएनन् । बुधबार २ बजे हाराहारीमा सबै (सात) मन्त्रालय पुग्दा कुनैका सचिव पनि कार्यालयमा थिएनन् । आन्तरिक मामिला मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेल मन्त्रालयकै काममा तनहुँ गएको सम्बद्ध अधिकारीले जनाए ।

प्रदेशका प्रमुख लक्ष्मीराम पौडेल चीन भ्रमणमा छन् । उनैसँग छन् मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव धर्मराज कुइँकेल । सोही कार्यालयका सचिव विष्णु ढकाल काठमाडौं गएका र अर्का सचिव लालमणि ओझा खाजा खान निस्किएको सूचना भेटियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विष्णु ढुंगाना चीन भ्रमणमा छन् ।

कर्मचारी नपुगेको र कार्यालयहरू खोल्न नपाएको गुनासो प्रदेश सरकारले गर्दै आएको छ । काठमाडौं गएका आर्थिक मामिला सचिव मुक्ति पाण्डे बुधबार दिउँसो कार्यालय आइपुगेका थिएनन् । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपाने भने बिदा लिएर पत्नीको उपचार गर्न दिल्लीमा छन् । कृषि मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ श्रीलंकामा आयोजित कृषि सम्मेलनमा भाग लिन गएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय सचिव ईश्वर मरहट्टा पोखरामै कार्यालयको काममा गएका मन्त्रालयका एक अधिकारीले जनाए ।

मन्त्री र सचिव नभएका सबै कार्यालय सुनसान थिए । बुधबार मात्रै नभई प्रायः मन्त्री र सचिवले काममा ध्यान नदिएको अरू कर्मचारी सुनाउँछन् । सोही कारण बजेट कार्यान्वयनलगायत काम हुन नसकेको तिनीहरूको बुझाइ छ । प्रदेश सरकारले २४ अर्ब दुई करोड रुपैयाँको बजेट ल्याएको थियो । गएको चार महिनामा डेढ प्रतिशत मात्रै खर्च भएको प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका सूचना अधिकृत श्यामराज जोशीले जानकारी दिए ।

बजेट कार्यान्वयनका लागि कतिपय कार्य्विधि बनिसकेको छ भने कतिपय बन्नै बाँकी छन् । त्यही कार्य्विधि बनाएर मन्त्रिपरिषद्बाट पारित गर्न पनि मन्त्रीहरू तातेका छैनन् । दैनिकजसो मेला महोत्सव र कार्यक्रमको उद्घाटन गर्न र प्रमुख अतिथि बन्न मात्रै दौडधूप गरिरहेका छन् ।

कर्मचारी नपुगेको र कार्यालयहरू खोल्न नपाएको गुनासो प्रदेश सरकारले गर्दै आएको छ । तर जति कर्मचारी छन्, जति कार्यालय छन्, तिनैबाट लिनसक्ने जति काम पनि नभएको मुख्यमन्त्री कार्यालयका एक अधिकृत बताउँछन् । ‘मन्त्रीज्यूहरूलाई सधैं कार्यक्रममा अतिथि बन्नै ठिक्क छ । जिल्लातिर पनि गइरहनु हुन्छ’, ती कर्मचारी भन्छन्, ‘अनि यसो कताकति अफिस आउँदा खै कामै भएन भन्नुहुन्छ ।’ काम गर्न गराउन र मन्त्रीहरूको ध्यानै नपुगेको उनी बताउँछन् ।

सत्तारुढ नेकपाकै सांसद पनि प्रदेश सरकारको काममा सन्तुष्ट छैनन् । ‘ल कर्मचारी भएनन् रे, दुई हजार कर्मचारी चाहिन्थ्यो, ६ सय मात्रै छन् भने ६ सयबाट हुने काम त देखिनुपर्यो नि’, एक सांसदले अन्नपूर्णसँग भने। प्रदेश सरकार प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने तयारीमा छ । त्यसअघि २० वटा जति ऐनका लागि विधेयक तयार गर्ने योजना छ। त्यतापट्टि पनि ढिलासुस्ती भइरहेको छ ।

कार्यविधि तथा कानुन मस्यौदा गर्न कानुनमन्त्रीले बनाएको एउटा समितिका संयोजकसमेत रहेका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि यतिबेला मुख्य न्यायाधिवक्ताको सम्मेलनमा भाग लिन दिल्लीमा छन् । मन्त्रालयहरू मन्त्री र सचिवविहीन भएकोबारे बुझ्न खोज्दा सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले फोन उठाएनन् ।–पत्रकार केशवरशरण लामिछानेले अन्नपूर्ण पोष्टका लागि समाचार लेखेका हुन् ।