गण्डकी प्रदेशका मुख्यमन्त्रीको स्वकीय सचिव छोरी, कार्यालय सहयोगी भाइ

पोखरा, पुस २६ ।
प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक र अन्य सुविधासहित राजपत्रांकित द्वितीय स्तरको १ जना र शाखा अधिकृतस्तरको १ गरी २ जना स्वकीय सचिव राख्न पाउँछन् । प्रदेशसभाले पारित गरेको ऐनमा मुख्यमन्त्रीले २ जना कार्यालय सहयोगी सरकारी खर्चबाट बेहोर्ने गरी राख्न पाउँछन् । यही सुविधा लिएर गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले छोरीलाई स्वकीय सचिव र भाइलाई कार्यालय सहयोगीमा नियुक्त गरेको समाचार स्पेस खवरले छापेको छ ।

मुख्यमन्त्री गुरुङले शाखा अधिकृतस्तरको स्वकीय सचिव भने आफ्नै छोरी एलिना गुरुङलाई राखेका छन् । छोरी एलिना गुरुङले मुख्यमन्त्रीकी स्वकीय सचिवका रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कात्तिकसम्मको पारिश्रमिक बुझेकी छन्। शाखा अधिकृतस्तरको स्वकीय सचिवको पारिश्रमिक ३० हजार ५ सय रुपैयाँ छ ।

मुख्यमन्त्रीको २ जना कार्यालय सहयोगीमध्ये एकजना उनकै भाइनाताका छन् । उनका भाइ भीमबहादुर गुरुङले मासिक पारिश्रमिकका रुपमा १६ हजार २ सय रुपैयाँ बुझ्दै आएका छन् । उनले मुख्यमन्त्री निवासमा काम गर्छन् ।

यसैबीच गण्डकी प्रदेश सरकारका मन्त्री र उनीहरुका स्वकीय सचिवले दैनिक भ्रमणभत्ता बापत ८ लाख ६६ हजार रुपैयाँ बुझेका छन् । साउनयता मुख्यमन्त्रीसहित ६ मन्त्री र उनका स्वकीय सचिवले दैनिक भ्रमण भत्ताबापत यो रकम बुझेका छन् ।

मुख्यमन्त्री गुरुङले साउनयता २ लाख ९ हजार २५ रुपैयाँ आन्तरिक भ्रमण भत्ता बुझेका छन् । मुख्यमन्त्रीले स्वदेश भ्रमणमा दैनिक ३ हजार रुपैयाँ र विदेश भ्रमण गर्दा दैनिक २ सय ५० डलर र मन्त्रीले नेपालभित्र भ्रमण गर्दा २ हजार ५ सय र विदेशमा भ्रमण गर्दा १ सय ७५ अमेरिकी डलर दैनिक भत्ता पाउने कानुनी व्यवस्था छ । मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म विदेश भ्रमण भत्ता भने लिएका छैनन् ।

मुख्यमन्त्रीले २ सय ५० लिटर डिजेल, मोविल १० लिटर, एउटा गाडी, सञ्चारका लागि ५ हजार, अतिथि सत्कारमा ४० हजार र धारा बिजुलीको बिलअनुसार रकम पाउने ऐनको व्यवस्था छ । प्रदेश सरकारले मन्त्री र स्वकीय सचिवलाई जिल्लाबाहिर कार्यक्रममा सहभागी हुन जाँदाको भ्रमणभत्ता उपलब्ध गराउँदै आएको छ । सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले अहिलेसम्म नियमअनुसारकै भ्रमण भत्ता बुझ्दै आएको प्रवक्ता रामशरण बस्नेतले बताए ।