गण्डकीमा होमस्टे चलाउनेलाई १० लाख अनुदान, ३० करोड विनियाेजन

पोखरा, भदौ २२ ।
गण्डकी प्रदेशले आफ्नो प्रदेशभित्र ३ सय वटा होमस्टे स्थापना गर्ने लक्ष्य राखेको छ । पर्यटकलाई लक्षित गरी निर्माण हुन लागेको होमस्टेका लागि सरकारले लगानी पनि बढाएको छ । नीति तथा कार्यक्रम पारित गरेर पहिलो बर्षका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन भैसकेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रबक्ता दिवाकर पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रति होमस्टेमा सरकारले १० लाख रुपैयाँ लगानी गर्नेछ । ‘पैसा माग्न आएपछि पाउने हैन । योजना सहित आउनुपर्छ, उनले भने–सम्भावना हेरेर सरकारले बजेट लगानी गर्छ ।’ प्रदेशभित्र हाल १ सय २५ वटा होमस्टे सञ्चालनमा छन् भने १ सय ५ वटा तत्कालै चलाउन सक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

होमस्टे प्रबद्र्धन गर्नका लागि कार्यविधि पनि तयार भैसकेको छ । ‘कार्यविधि बनाएर क्याविनेटमाा पठाईसक्यौं । कार्यविधि पारित भएपछि होमस्टे संचालकलाई आह्वान गर्छौं, पौडेलले भने ।’ गण्डकी सरकारले तीन चरणमा पर्यटन बर्ष घोषणा गरिसकेको छ । सन् २०१९ लाई आन्तरिक पर्यटक बर्ष, सन् २०२० लाई छिमेकी मुलुक पर्यटक बर्ष र सन् २०२२ लाई बृहत पोखरा अन्तराष्ट्रिय पर्यटक बर्षको रुपमा मनाउने गरी कार्ययोजना बनिरहेको पर्यटन मन्त्री विकास लम्सालले जानकारी दिए ।

होमस्टे चलाउन चाहाने गाउँले कम्तिमा ५ घरधुरी हामेस्टे बनाउनुपर्छ । १५ देखि ३० हजारसम्म पर्यटक राख्न सक्ने क्षमतामा होमस्टे स्थापना हुने मन्त्रालयले जनाएको छ । सन् २०२२ सम्म २५ लाख पर्यटक भित्र्याउने सरकारको योजनालाई सार्थक बनाउनकै लागि होमस्टे प्रबद्र्धनका कार्यक्रम अघि सारिएको लम्साल बताउँछन् ।