गण्डकीमा पठाओ र इनड्राइभ सहित राइड सेयरिङ दर्ता गर्न पाइने

पोखरा, असार ४ ।
गण्डकी प्रदेश सरकारले पठाओ, इनड्राइभजस्ता राइड सेयरिङ सेवालाई बैधता दिने तयारी गरेको छ । कम्पनीमा दर्ता भएर वा नभएर अहिले विभिन्न सेवा प्रदायक संस्थाले सेवा दिइरहेका छन् । उनीहरुलाई कानूनी दायरामा ल्याउने र कर प्रणालीसँग जोड्ने गरी दर्ताको प्रक्रियामा लागिएको सरकारले जनाएको छ ।

पठाओ काठमाडौंमा ६ वर्षअघि देखि सञ्चालनमा छ । तर नियमन कसैले गरेको छैन । कानूनी मान्यता नपाएका कारण उनीहरु करको दायरामा पनि छैनन् । गण्डकी सरकारले आर्थिक विधेयकमार्फत उनीहरुलाई दर्ताको बाटो खुलाएको हो ।

यो व्यवस्थाअन्तर्गत अब ती सेवा प्रदायकले प्रदेश मातहतको यातायात व्यवस्था कार्यालयमा दर्ता गरेर आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने छ । राइड सेयरिङ सेवाका लागि दुई पांग्रे सवारी साधन दर्ता गर्न २५ हजार र नवीकरण शुल्क प्रतिवर्ष १२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

चार पांग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क ५० हजार र वार्षिक नवीकरण शुल्क २५ हजार रुपैयाँ लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।