गण्डकीमा कफी–माग छ, उत्पादन छैन

प्रकाश ढकाल
पोखरा, असार २८ ।
कास्की ढिकुरपोखरीका कलाधर भुगाईँ अधिकांश समय कफीबारीमै भेटिन्छन् । गोडमेल गर्ने र बाँझा जमिनमा विरुवा रोप्ने उनको दैनिकी हो । अचेल गाउँभरीका मान्छे कफी खेती गर्नुपर्दा उनीसँगै सल्लाह लिन्छन् । उनकै अगुवाईमा अहिले गावैंभरी कफी खेती गरिएको छ । केही बर्षअघिसम्म कफीको विरुवा देखेपनि झारसँगै उखेलेर फाल्ने ढिकुरपोखरीका किसानले अहिले बल्ल कफीको महत्व बुझेका छन् । बर्षेनी हजारौं किलो कफी ढिकुरपोखरीबाट निर्यात हुन्छ ।

उनीहरुले २०६३ सालमै माछापुच्छ«े उत्तम कफी उत्पादक सहकारी संस्था स्थापना गरेर कफीको विस्तार र प्रवद्र्धन थालेका हुन् । किसानले उत्पादन गरेका कफी सहकारीले खरिद गरेर बजारमा पठाउँछ । ‘कफीका लागि लागि बजार पाउन सजिलो छ,’ किसानहरु भन्छन्, ‘जति उत्पादन गर्न सक्यो उत्ति फाईदा छ ।’ आकर्षण बढेपनि कफीमा देखिने सिन्दुरे रोगका कारण किसानहरु चिन्तित छन् ।

नेपालमै कफी किसानहरु ब्यवसायिक बन्न सकिरहेका छैनन् । त्यसको प्रभाव गण्डकीमा पनि छ । अधिकांशले अझैपनि किचन गार्डेनको रुपमा कफी खेती गर्छन् । १ रोपनीभन्दा कम क्षेत्रफलमा खेती गर्नेहरु बढी छन्, नेपालमा । केही बढी क्षेत्रफल भएपनि कफीसँग घुसुवा बाली लगाउने चलन कायमै छ । त्यसैले कफी खेती ब्यवसायिक हुन नसकेको बताउँछन्, केन्द्रीय तथ्याकं विभागका निर्देशक डा. महेश सुवेदी । ‘कफी भन्दा घुसुवा बालीको आम्दानी राम्रो छ । त्यसैले कफीभित्र घुसुवा बाली लगाउने चलन हट्न सकेको छैन,’ उनले भने, ‘कफीको विरुवा लिनेहरु धेरै छन् तर सबैले खेती गर्दैनन् । कसैले रोप्दै रोप्दैनन्, कसैले चाहीँ रोपेपनि गोडमेल गर्दैनन् ।’

ब्यवसायिक रुपमा खेती गरेपनि अझै १६ प्रतिशतले १ रोपनीभन्दा कम क्षेत्रफलमा कफी लगाएको तथ्यांक छ । १ रोपनीभन्दा केही बढी क्षेत्रफलमा खेती गर्नेहरु चाहीँ ७१ प्रतिशत छ । ९ प्रतिशतले ५ रोपनीभन्दा धेरै जग्गामा कफी लगाउँछन् भने जम्मा ४ प्रतिशतले मात्रै १० रोपनी भन्दा बढी जमिनमा कफी लगाउने गरेको तथ्यांक केन्द्रीय तथ्यांक विभागसँग छ । देशभर ३२ जिल्लामा मात्रै ब्यवसायिक खेती हुन्छ । ९ जिल्ला गण्डकी प्रदेशभित्रै पर्छन् ।

गण्डकीको स्याङजा जिल्ला कफीका लागि पछिल्लो बर्षहरुमा निकै प्रसिद्ध छ । नेपालमै कफी उत्पादनका हिसावले स्याङजा तेश्रो नम्बरमा पर्छ । स्याङजाबाट मात्रै १ लाख ५८ हजार ८ सय ४७ किलो फ्रेस चेरी उत्पादन भएको छ भने कास्कीले १ लाख ३६ हजार ४३ किलो कफी उत्पादन गरेको छ ।

मनाङ र मुस्ताङमा हालसम्म ब्यवसायिक कफी खेती गरिएको छैन । गण्डकी प्रदेशभरि अघिल्लो बर्ष ४ लाख २२ हजार ४ सय ३१ केजी कफी ब्यवसायिक उत्पादन भएको छ । ब्यवसायिक र परम्परागत गरी ८ लाख ३३ हजार केजी फ्रेस चेरी अघिल्लो बर्ष उत्पादन भएको तथ्यांक छ । १ हजार ८ सय ७२ जना ब्यवसायिक किसान रहेको यो प्रदेशको २ सय ८१ हेक्टर जमिनमा कफी खेती गरिन्छ । देशभरीको ३० प्रतिशत कफी गण्डकीले मात्रै उत्पादन गर्ने तथ्यांक छ । नेपालमा उत्पादित कफीको अन्तराष्ट्रिय बजारमा बढी माग छ । विशेषगरी जापान, जर्मन, बेलायत लगायतका देशमा यहाँको कफी निर्यात हुन्छ ।

‘हावापानी र अर्गानिक उत्पादनका कारण यहाँको कफीको माग विश्वबजारमा राम्रो छ । तर ब्यवसायिक खेती नभएका कारण मागअनुसार उत्पादन हुन सकेको छैन,’ गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. विष्णु बराल भन्छन्, ‘अव प्रदेशको एकीकृत प्रशोधन केन्द्र बनाएर अन्तराष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ । कफी खेतीबाटै किसानको आयस्तर बढाउन सकिन्छ ।’

कफी तथा चिया विकास बोर्डका चन्द्र पुरी पनि किसानहरुको ब्यवसायिक दक्षता बढ्न नसकेको बताउँछन् । गण्डकीमा १ लाख ८८ हजार ७ सय ७७ हेक्टरमा कफी उत्पादन गर्ने सम्भावना रहेको उनले सुनाए । ‘नयाँ बाली भएकोले किसानलाई विश्वास छैन । उत्साही पनि छैनन् । परम्परागत बाली मासेर यतातिर मोडिन समस्या छ,’ उनले भने, ‘अरु बालिभन्दा ४ गुणा फाईदा हुन्छ तर बुझ्न सकेका छैनन् ।’

धेरैले परीक्षणको रुपमा मात्रै लगाउने गरेको उनको भनाई छ । नेपालमा खासगरी प्राविधिक पक्ष कमजोर रहेको पुरीको तर्क छ । ‘विदेशबाट भित्रिएका कारण नेपालमा कफीको प्रविधि छैन । अनुसन्धान त झन् हुनै सकेको छैन,’ उनी भन्छन्, ‘अव उत्पादन प्रविधि परिमार्जन गर्ने काममा हाम्रो ध्यान केन्द्रीत छ । विरुवा र विउ मात्रै बाँडेर हुन्न । मलखाद, सिंचाई र नर्सरीमा जोड छ ।’ उनका अनुसार बोर्डले साउनदेखि नै कफी कपिङ (टेष्ट) ल्याव चलाउन लागिरहेको छ ।

नेपालमा ८ सय देखि १ हजार ६ सय मिटर उचाईसम्म कफीखेती हुन्छ । सरकारले कफीमा अनुदान दिएर ब्यवसायिकता तर्फ किसानलाई अग्रसर गराईरहेको छ । विरुवा वितरण, विभिन्न तालिम र ढुवानीमा सहुलियत दिएको छ भने कहिलेकाहीँ बजार समेत खोज्न सघाएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार पोखरामा कफीखेतीको तथ्यांक सार्वजनिक गरेको छ । कफी ब्यवसायको विकासका लागि आवश्यक नीति निर्माण र योजना तर्जुमामा सघाउने गरी तथ्यांक तयार गरिएको विभागले जनाएको छ । कफीमा ४० देखि ६० बर्ष उमेरका ब्यवसायी बढी लागेका छन् । विश्वभरीमै नेपाली कफीको माग ८ मेट्रिक टन छ । पोखरामा मात्रै २ सय भन्दा बढी क्याफेमा कफीको ब्यापार हुन्छ ।