गण्डकीमा इन्ड्राइभ र पठाओको दर्ता रोक्न ट्याक्सीवालाको दवाव

पोखरा, असार ५ ।
ट्याक्सी व्यवसायीले निजी प्रयोजनका मोटरसाइकल र स्कुटरबाट यात्रु ओसारपसार गर्ने राइड सेयरिङलाई मान्यता नदिन माग गरेका छन् । पोखरेली ट्याक्सी सेवा प्रालिले ज्ञापनपत्र बुझाउँदै भाडाका सवारी साधनलाई प्राथमिकता दिन सरकारसँग माग गरेको हो ।

ट्याक्सी चालकहरुले आफ्नो रोजीरोटी खोस्ने गरी निजी सवारीले भाडाका यात्रु बोक्न नपाउने भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ध्यानाकर्षण पत्र पठाएका हुन् । गण्डकी सरकारले राइड सेयरिङलाई चैतभित्र दर्ता गरी कानूनी बाटोबाट सञ्चालन गर्न बाटो खोलेको छ ।

यस्तो निर्णयले धेरैको पेसा पलायन हुने ट्याक्सी व्यवसायीको गुनासो छ । ‘दुई पाङग्रे सवारी अत्याधिक दुर्घटना भई बढी मात्रामा जनधनको क्षति भइरहेको अवस्था छ । भोलिका दिनमा झन् विकराल हुन्छ,’ अध्यक्ष प्रकाशमणी तिवारीले भने, ‘मजदुर र राइडरबीच द्धन्द्ध हुन्छ । लाखौं खर्च गरेर किनेका ट्याक्सीहरु घरमा थन्किन्छन् ।’

संघ सरकारले पनि राइड सेयरिङलाई मान्यता दिन कार्यविधि तयार गर्दैछ । गण्डकीको यातायात मन्त्रालयले संघको कार्यविधि आएपछि त्यससँग नबाझिने गरी प्रदेशको कार्यविधि तयार गर्ने बताएको छ । काठमाडौंमा पठाओ र टुटल लगायत राइड सेयरिङमार्फत निजी मोटरसाइकल, स्कुटर र कारले समेत यात्रु ओसारपसार गरिरहेका छन् । पोखरामा दर्ताबिनै इन ड्राइभ एपमार्फत यात्रु खोजी मोटरसाइकल र स्कुटरले सेवा दिइरहेका छन् ।