गण्डकीको आगामी बजेट साढे ३३ अर्व

पोखरा, असार १ ।
गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी वर्षका लागि ३३ अर्व ४२ करोडको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू वर्षमा कार्यान्वयन गरेको भन्दा २ अर्व ४८ करोड कम हो । संघीय अनुदान र आन्तरिक आम्दानी कम उठेका कारण आगामी वर्षको बजेटको आकार घटेको अर्थमन्त्री जीत प्रकाश आलेले बताए ।

आगामी वर्ष चालूतर्फ १२ अर्व ७३ करोड, पूँजीगत तर्फ २० अर्व १९ करोड तथा वित्तीय व्यवस्थामा ५० करोड रुपैयाँ विनियोजन भएको छ । आगामी वर्ष संघ सरकारले वित्तीय समानीकरणमा ७ अर्व ६२ करोड, राजश्व बाँडफाँटबाट ९ अर्व ५ करोड, रोयल्टी बाँडफाँटमा ४० करोड, सशर्तमा ४ अर्व ९४ करोड, समपुरकमा ८४ करोड र विशेषमा ७० करोड अनुदान पठाउने छ । ५ अर्व १६ करोड प्रदेशले आँफै (आन्तरिक) आम्दानी गर्ने लक्ष्य लिएको छ । चालू वर्षको मौज्दात ३ अर्व रहने अनुमान छ भने बाँकी १ अर्व ७० करोड आन्तरिक ऋण लिने उल्लेख छ ।

आगामी वर्ष पनि सडक र भौतिक पूर्वाधारमा सरकारको जोड छ । भौतिकमा मात्रै १२ अर्व ३१ करोड विनियोजन गरिएको छ भने सामाजिक विकासमा ५ अर्व ५ करोड, उर्जा, जलश्रोत तथा खानेपानीमा ५ अर्व १ करोड, कृषिमा २ अर्व २१ करोड बजेट छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा १ अर्व ६० करोड, मुख्यमन्त्री कार्यालयमा १ अर्व १३ करोड र अर्थ मन्त्रालयमा १५ करोड मात्रै बजेट । आन्तरिक मामिला मन्त्रालय समेत गाभिएका कारण मुख्यमन्त्री कार्यालयको बजेट आकार बढेको हो ।