गण्डकीका मुख्यमन्त्री भन्छन्ः कोरला–सुस्ता सडकले प्रदेशको समृद्धि

हरि बास्तोला
पोखरा, साउन १५ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको बताएका छन् । चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ दुई ठूला छिमेकी राष्ट्रलाई जोड्ने यो सडक निर्माण समग्र प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने बताउँछन् ।

सडकको विकासलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको उनले बताए । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सडक निर्माणका लागि संघीय सरकारसँग आवश्यक सहयोग मागेको छ ।

’कोरालादेखि सुस्तापूर्व त्रिवेणीसम्म सडक निर्माणका लागि चीनको एउटा कम्पनीले निःशुल्क डिपीआर तयार गर्न चासो देखाएको छ’, मुख्यमन्त्री गुरुङले भने, ’आवश्यक लागत आएपछि संघ र प्रदेशबीच समन्वय गरी निर्माण अघि बढाउँछौँ ।’

गण्डकी प्रदेशकै त्रिवेणी पुग्नका लागि सडकको अभाव भएकाले पोखराबाट चितवन हुँदै प्रदेश ५ को बर्दघाट पुग्नुपर्ने वाध्यता रहेकाले उक्त सडकले पूर्णता पाएपछि पोखराबाट सिधै दक्षिणको त्रिवेणी र उत्तरको कोरला पुग्न सकिने मुख्यमन्त्री गुरुङले बताए । सो क्षेत्रको स्थलगत निरीक्षणपछि उनले भने, ’पोखराबाट छोटो दूरीमा पूर्व–पश्चिम राजमार्गको उपयुक्त स्थानमा जोड्नेगरी सम्भाव्यता अध्ययन गरिनेछ ।’

चितवन राष्ट्रिय निकुञ्जको सीमसार क्षेत्रबाट सडक निर्माणसँगै एक दशकअघिदेखि बन्द भएको त्रिवेणी छोटी भन्सारको स्तरोन्नति गरेर आवश्यक भौतिक संरचना निर्माण गरी पूर्णरुपमा सञ्चालन गर्न भारतसँग आवश्यक पहल गरिदिन संघीय सरकारलाई प्रदेश मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उनले जानकारी दिए । गण्डकी प्रदेशमा समावेश हुन पाउँदा खुसी बने पनि सुस्ता पूर्व विनय त्रिवेणी नगरपालिका–६ र ७ का बासिन्दा सडक सञ्जालसँग नजोडिँदा चिन्तित छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक चाँडो निर्माण हुने आशमा रहेका नवलपुरका बासिन्दा त्यही जिल्लाको सदरमुकाम कावासोती पुग्न प्रदेश ५ को सुस्ता बर्दघाट हुँदै जान वाध्य भएकको विनय त्रिवेणी नगरपालिका– ७ का प्रमोद रौनीयार बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जबाट सडक खुल्न नसक्दा स्थानीयवासीले प्रदेश ५ को बर्दघाटबजार भएर कावासोती पुग्न करिब २५ किलोमिटर यात्रा गर्नुपर्छ ।

पोखरा–कोरला सडकअन्तर्गत राष्ट्रिय गौरवको योजना कालीगण्डकी करिडोर निर्माणले तीव्रता पाएको छ । सडकको हिमाली क्षेत्रतर्फ बेनी–जोमसोम ७५ किलोमिटर सडक स्तरोन्नतिका साथै कालोपत्र भइरहेको आयोजनाका इन्जिनियर जगन प्रजापतिले जनाएका छन् । दोहोरो यातायातका साधन सञ्चालन हुने सो सडक २ अर्ब ४० करोडको लागतमा निर्माण भइरहेको छ ।

जोमसोम–कोरला १ सय १० किलोमिटर सडक ग्राभेल गर्ने काम २ अर्ब ६० करोडको लागतमा निर्माण भइरहेको छ । खैरेनीटारदेखि भिमाद डेढगाउँ हुँदै नवलपुरको कावासोतीसम्म १ सय १० किलोमिटर सडकको ट्रयाक खोलिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताए । सो सडकमा यातायात सञ्चालन गर्न बर्खामा केही असहज भए पनि हिउँदमा सहज रुपमा आवतआवत गर्न सकिने अवस्था छ ।

सो सडक निर्माणसँगै मुक्तिनाथ, त्रिवेणीधाम लगायत विभिन्न धार्मिक पर्यटकीय स्थललाई जोड्नुका साथै कोरला–पोखरा–त्रिवेणी सडकलाई चीन र भारतबीचको व्यापारिक केन्द्रका रुपमा विकास गर्न टेवा पुग्ने यस क्षेत्रका बासिन्दा बताउँछन् । नेपाल र चीनलाई जोड्ने उक्त सडक निर्माणसँगै गण्डकी प्रदेशसहित यसले समग्र देशकै आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान र्पुयाउने भएकाले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा यसलाई अघि बढाउनु आवश्यक देखिएको छ । रासस