गण्डकीका प्रत्येक कर्मचारीले घुम्नका लागि २५ हजार पाउने

पोखरा, साउन १९ ।
जनप्रतिनिधिको तलव भत्ता बढिरहेकोमा चौतर्फी आलोचना भैरहेका बेला गण्डकी प्रदेश सरकारले कर्मचारीलाई भ्रमणका लागि पनि पैसा छुट्याएको छ । बर्षमा एक हप्ता घुम्नका लागि प्रत्येक कर्मचारीलाई २५ हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा जवाफ दिने क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले यस्तो जानकारी दिएका हुन् ।

नेपालभित्रका जुनसुकै ठाउँमा भ्रमण गरेपनि त्यसको फोटो र भ्रमण प्रतिवेदन बुझाए प्रत्येक कर्मचारीले २५ हजार रुपैयाँ पाउने उनको भनाई छ । ‘कार्यालयमा काम गर्दा हाई काढेर बस्ने अवस्था छ । उनीहरुलाई रिफ्रेसमेण्टका लागि भ्रमणको ब्यवस्था गरेका छौं,’ उनले भने, ‘सबै कर्मचारीले भ्रमणको लागि पैसा पाउँछन् ।’

‘खर्च हेरेर २५ हजारसम्म दिने हो । हरेकले २५ हजार खर्च गर्न पाउँछन् तर खर्च हुनुपर्छ । एकदिन घुमेर २५ हजार पाउने होईन । विल भरपाई हेरेर भुक्तानी हुन्छ,’ उनले भने, ‘२५ हजारभन्दा बढी खर्च भए सरकारले ब्यहोर्दैन ।’

गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारीको दरवन्दी छ । सबै कर्मचारीलाई २५ हजारका दरले उपलब्ध गराए ५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ । तर सरकार कर्मचारीलाई घुम्नका लागि ९० लाख रुपैयाँ मात्रै बजेट ब्यवस्था गरेको छ । मुख्यमन्त्री कार्यालयबाट सञ्चालन हुने गरी आन्तरिक पर्यटन बर्षलाई टेवा दिन कर्मचारी भ्रमणको ब्यवस्था गरिएको हो ।

केही समयअघि वडा सदस्य देखि मुख्यमन्त्री सम्मको सुविधा बढाएर गण्डकी सरकार आलोचित बनेको थियो । पर्यटन मन्त्री विकास लम्सालले नै इन्जोय जोन र फेवातालमा कफी सप खोलेर १ सय डलरमा कफी बेच्ने विवादित बिषय बोलेका थिए ।