गणेश लामा छुटे, कारागारभित्रै ‘गुरू’ मनाङेले लगाइदिए माला

काठमाण्डौं, कार्तिक १ ।
नेपाली कांग्रेससँग निकट ‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् । गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २६ चैतमा गरेको थुनछेक आदेश बमोजिम हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप उनलाई डिल्लाबजार कारागारमा पुर्पक्षका लागि पठाइएको थियो । पछि मुद्दाको फैसलामा उनलाई ७ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । ‘पक्राउ परेको दिनदेखि २८ असोजसम्ममा कैद सजाय कट्टा भएकाले अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए थुनामुक्त गर्नु होला’, प्रशासन कार्यालयंद्वारा डिल्लीबजार कारागारलाई प्रेषित पत्रमा उल्लेख छ ।

‘लामाको अन्य मुद्दा नभएको देखियो र हतियारको मुद्दामा सजाय पूरा भएको हुँदा उनलाई थुनामुक्त गरिएको छ’, डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले भने । डिल्लीबजार कारागारमा सँगै रहेका अर्का गुन्डा नाइके दिपक मनाङेले लामालाई माला लगाइदिएर विदाइ गरेको कारागार स्रोतले जनाएको छ । लामा छुट्ने वेलामा उनले भावुक बन्दै फुलमाला लगाइदिएका थिए । कारागारबाट निस्किएलगत्तै बाहिर उनका समर्थकहरुले स्वागत गरेका थिए ।

गुन्डागर्दीको दुनियाँमा काभ्रेका गणेश लामालाई प्रवेश गराउने दिपक मनाङे नै हुन् । ०६२÷०६३ को जनआन्दोलनपछि ठमेलको एक रेष्टुरेन्टमा बाउन्सरका रुपमा काम गरिरहेका लामाको भेट मनाङेसँग भएको थियो । मनाङे निकटस्थ भन्छन्, ‘त्यसवेला महाराजगञ्ज क्षेत्रमा चक्रे मिलन, ठमेलमा मनाङे र चाबहिलमा राजु गोर्खालीको पकड थियो । समूह विस्तार गरिरहेकै वेला मनाङेको आँखा लामामाथि परेको थियो ।’

मनाङेको समूहमा जोडिएपछि लामा विस्तारै उदाउँदै गए । ठेक्कापट्टाबाट गुण्डागर्दीको दुनियाँमा प्रवेश गरेका लामा राजनीतिक आडमा आपराधिक क्रियाकलाप गर्दै आएका थिए । ०६१ मा चाइनिज रेष्टुरेन्टमा चक्रेको हात छिनाउने पनि लामाकै ‘केटाहरु’ भएको बताइन्छ ।

पछि काभ्रेमा रक्तचन्दनको कारोबार थालेपछि उनी एकाएक राइज भए । त्यसवेला प्रहरीलाई समेत रक्तचन्दनबारे जानकारी थिएन । ‘त्यतिवेला प्रहरीलाई समेत हातमा लिएर उनीहरुले रक्तचन्दन तस्करी गरिरहेका थिए,’ एक सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, पछि मात्रै तस्करीबारे राज खुलेको थियो ।’