खोप्लाङको नयाँ पहिचान–भिआईपी गाउँ

गोरखा, माघ २६ ।
२०६८ साल भदौमा गोरखा खोप्लाङका बाबुराम भट्टराई नेपालका ३५ औं प्रधानमन्त्री बने । त्यतिबेला माओवादीका वरिष्ठ नेता रहेका भट्टराईले २०६९ फागुनसम्म नेपालको शासन सत्ता सम्हाले । त्यसअघि भट्टराई २०६४ मा र पछि २०७० मा पनि संविधानसभा सदस्यमा निर्वा्चित भएका थिए । २०७४ मङ्सीर १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्बाचनमा पनि उनी निर्वा्चित भए । नयाँशक्ति पार्टीबाट उम्मेद्वार बनेका भट्टराई काङ्ग्रेससंग गठबन्धन गरी विजयी भएका थिए । माओवादीका वरिष्ठ नेता पूर्व सहकर्मी नारायणकाजी श्रेष्ठलाई छहजार सातसय मतले पछि पार्दै भट्टराई प्रतिनिधिसभा सदस्य बनेका हुन् । उनी साबिक खोप्लाङ गाविस ४ बेलबासका थिए ।
गत मङ्सीर १० मा सम्पन्न पहिलो प्रदेशसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं. २ प्रदेश ‘ख’बाट हरिशरण आचार्य विजयी भए । नयाँशक्ति पार्टी नेपालको तर्फबाट उम्मेद्वार बनेका ३९ बर्षका आचार्य पूर्व सहकर्मी माओवादी केन्द्रकी कमला नहर्कीलाई पछि पार्दै विजयी बनेका हुन् । आचार्य साबिक खोप्लाङ गाविस २ पोखराबेशीका हुन् । यसअघि गत बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पालुङ्टार नगरपालिकाको उपमेयरमा पम्फा बसेल निर्वा्चित भइन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी चेतकुमारी श्रेष्ठलाई हराउँदै माओवादी केन्द्रबाट बसेल निर्वा्चित भएकी हुन् । २८ बर्षकी युवानेता बसेल पनि खोप्लाङकै हुन् । उनी साबिक खोप्लाङ ४ बेलबास निवासी हुन् । भर्खरै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा चार नम्बर प्रदेशबाट सुरेन्द्रराज पाण्डे निर्वा्चितभए । दुईहजार दुईसय ६२ मतपाएर पाण्डे विजयी भएका हुन् । नयाँशक्ति पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समेत मत पाएका पाण्डे नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् ।पाण्डे पनि साबिक खोप्लाङ गाविस ६ डाँडागाउँ निवासी हुन् ।
भट्टराई, पाण्डे र बसेल हालको पुनसंरचनाअनुसार पालुङ्टार १ का हुन् भने आचार्य पालुङ्टार २ पोखराबेशीका हुन् । एउटै गाउँका बासिन्दा धेरै ठाउँमा जनप्रतिनिधि हुनु संयोग मात्र होइन, यसमा केही रहस्य नै रहेको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तर्क गर्छन् । उनको शव्दमा द्रव्यशाहलाई गोरखामा ल्याउन भूमिका खेल्ने गणेश पाण्डे, गजानन भट्टराई पनि खोप्लाङकै हुन् । ‘इतिहास हेर्ने हो भने द्रव्यशाहलाई गोरखामा ल्याउने नारायणदास अज्र्याल, गणेश पाण्डे र गजानन भट्टराई मध्य पाण्डे र भट्टराई खोप्लाङकै हुनुहुन्थ्यो’ उनी भन्छन् ‘नेपाल एकीकरणमा योगदान दिने कालु पाण्डे, पहिलो मुख्तियार दामोदर पाण्डे, पूर्व प्रधानमन्त्री कीर्ति्निधि विष्ट, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि गोरखाकै हुनुहुन्थ्यो ।’ गणेश पाण्डे, दामोदर पाण्डे हालका सुरेन्द्र पाण्डेको पुर्खा र गजानन भट्टराई कृष्णप्रसाद भट्टराई र आफ्नो पुर्खा रहेको बाबुराम भट्टराई बताउँछन् ।‘तीनवटा प्रधानमन्त्री जन्माइ सकेको ठाउँ हो खोप्लाङ’ उनी भन्छन् ‘यो एउटा खोजको विषय हो ।’ राजनीतिक रुपमा विकास भएपनि भौतिक पूर्वाधार विकास भने नभएको स्थानीय कृष्णप्रसाद पोखरेल बताउँछन् । ‘आफ्नो गाउँ ठाउँको मान्छे ठूलो ठाउँमा खुशी लाग्छ’ पोखरेल भन्छन् ‘पूर्वाधार विकास चाहिँ छैन । काम गरे पनि नगरे पनि गुनासो गर्ने ठाउँ चाहिँ भएको छ ।’–साभार दरौंदी दैनिक