खुल्यो रत्नमन्दिर

पोखरा, जेठ १५ ।
नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्षपछि पोखराको फेवाताल किनारमा रहेको राजाको हिउँदे दरबार सर्वसाधारण नागरिकका लागि खुला गरिएको छ । पूर्वराजपरिवार पोखरा आउदा बस्नका लागि बनाइएको रत्नमन्दिर सहित हिमागृह गणतन्त्र दिवसकै अवसरमा खुला गरिएको हो ।

वर्षौंदेखि यि दरबार खुला गर्ने पहल भएपनि काम अघि बढ्न सकेको थिएन । राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा निर्माण गर्न लगाउनुभएको रत्नमन्दिर सहित २०३१ सालमा निर्माण भएको हिमागृहलाई पर्यटनमन्त्री सुदन किराँतीले सोमबार विशेष कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।

‘सबै पोखरेलीको चासो र दवावका कारणले यो दरबार खुला भएको हो । यसको प्रमुख श्रेय पोखरेली नागरिकहरुलाई छ,’ उनले भने, ‘अब यसलाई अधिकतम पोखराको हितमा उपयोग गर्न र संरक्षण सम्बद्र्धनका लागि एकजुट हुनुपर्छ । रेखदेखको काम गर्नुपर्छ ।’

राजसंस्थाको अन्त्यपछि २०६४ सालमा दरबार सहित १ सय ७४ रोपनी जग्गा नेपाल ट्रस्टका नाममा सारिहेको थियो । दरबारको ऐतिहासिक सामग्रीको सुरक्षा, संवेदनशीलता तथा प्राविधिक कारण परिसर खुला गरिएपनि भित्री भाग केही समयपछि मात्रै खोल्ने बताइएको छ ।

पोखराका मेयर धनराज आचार्यले बहुप्रतिक्षाको रत्नमन्दिर खुला भएसँगै पोखराको पर्यटनमा निकै ठूलो टेवा पुग्ने दावी गरे । ‘रत्नमन्दिर खुला हुनु बहुप्रतिक्षाको घडी हो । आज त्यो पूरा भयो,’ उनी भन्छन्, ‘अहिले परिसर खुलेको छ । केही प्राविधिक कुरा मिलाएपछि भित्रि भाग पनि खुल्छ । रत्न मन्दिरका कारण पोखराको पर्यटन नयाँ उचाइमा पुग्ने विश्वास लिएका छौं ।’

पहिलो चरणमा दरबारमा प्रवेश गर्न नेपालीका लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीका लागि १ हजार शुल्क छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइने ट्रष्टको कार्यालयले जनाएको छ । तीनतले दरबारमा ११ कोठा छन् ।