खानामा विभेद गरेपछि सरकारी कार्यालयका चालकहरु आन्दोलित–तुरुन्त स्थायी गर्न चेतावनी

पोखरा, मंसिर १२ ।
मंगलबार दिउँसो पोखराको तारे होटल ग्राण्डमा केहीबेर चर्काचर्की भयो । गाडीका चालकहरुलाई खानाको छुट्टै मेस बनाएपछि सरकारले विभेद गरेको भन्दै उनीहरु कुर्लिए । उनीहरुको आवाजलाई सम्बोधन गर्दै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले माफी समेत माग्नुप¥यो ।

बस्नेतले गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएपछि स्थिति साम्य भएको थियो । उनै चालकहरु पुनः एकीकृत भएर सरकारसँग मागपत्र पेस गरेका छन् । बुधबार सरकारी तथा संस्थान सवारी चालक एशोसियसनको बैठक बसेर ६ बुँदे माग गरेका हुन् ।

उनीहरुले चालकहरु एकीकृत हुनेदेखि चालकलाई स्थायी गर्नुपर्ने, महंगी भत्ता उपलब्ध गराउनुपर्ने, इन्स्युरेन्सको ब्यवस्था मिलाउनुपर्ने, लाइसेन्सको नवीकरण गरिदिनुपर्ने र सञ्चयकोषको ब्यवस्था मिलाईदिनुपर्ने माग गरेका छन् ।

‘२०५७ सालदेखिका साथीहरु अझैपनि अस्थायीमा सेवा गरिरहनुभएको छ । हालसम्म ज्यालादारी रुपमा काम गर्दै आएका चालकहरुलाई तत्काल स्थायी गर्नुपर्छ, एशोसिएसनकी सचिव देवि कार्कीले भनिन्–सरकारले दिने सबै प्रकारका भत्ताहरु हामीले पनि पाउनुपर्छ । यसका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

मन्त्रालयमा माग राख्नका लागि छुट्टै उपसमिति समेत गठन भएको छ । भौतिक पूर्वाधाार विकास मन्त्रालयका चालक डिल्लिराम भट्टको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । समितिको उपसंयोजकमा मुख्य न्यायधिबक्ताको कार्यालयका चालक गोविन्द दाहाल, सदस्यहरुमा आन्तरिक मामिला मन्त्रालयका राम बराल, पर्यटन मन्त्रालयका भरत सुवेदी, सामाजिक विकास मन्त्रालयका शिवबहादुर भुजेल, कृषि मन्त्रालयका विनोद सारु मगर, सभामुखको कार्यालयका लेखबहादुर गुरुङ, मुख्य सचिवको कार्यालय निर्मल गुरुङ, अर्थ मन्त्रालयका ज्ञानेन्द्र भण्डारी छन् ।

एशोसिएसनका अध्यक्ष सुकदेव सापकोटाले माग पूरा नभए आन्दोलनको चरणमा प्रवेश गर्ने चेतावनी दिएका छन् । माग सम्बोधनका लागि सबै चालकहरुलाई एकीकृत हुन पनि उनले आह्वान गरे ।