क्याम्पसको जग खन्दा भेटियो सुनचाँदीको भण्डार
अछाम, बैशाख २८ ।
क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको छ । साँफेबगर नगरपालिका–२ श्रीकोटमा केही दिनअघि पनि सुनचाँदी भेटिएको थियो । अहिले थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा शुक्रबार थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।
भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरबीच भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो । उनीहरुको साथमा रहेको सुन अहिले प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको थियो ।
जमीनमुनि अझै पनि सुन रहेको आशंकामा क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेको छ । माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं. २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिए । जमीनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले जानकारी दिए ।
वि.सं. १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उहाँको प्रभावलाई नष्ट पार्न र सिञ्जाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यसबेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयवासी बताउँछन् ।
पछि गएर स्थानीयवासीले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्वकालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । वि.सं. १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।