क्यानडाको नेपालसामू १९५ रनको चुनौति

काठमाण्डौं, फागुन २ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत निर्णायक खेलमा नेपाललाई क्यानडाले १ सय ९५ रनको लक्ष्य दिएको छ । नामिबियाको वन्डरर्स मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको क्यानडाले ५० ओभर ८ विकेट गुमाउँदै १ सय ९४ रन जोड्यो । क्यानडाका लागि ओपनर श्रीमन्था विजयरत्नेले शतक बनाए। उनले नटआउट १ सय ३ रनको योगदान दिए । उनले १ सय ५२ बलमा ८ चौका हिर्काए । बलिङतर्फ नेपालका लागि बसन्त रेग्मीले ३ विकेट लिए । बसन्तले १० ओभरमा ३४ रन खर्चिए । यस्तै सन्दीप लामिछाने २ विकेट करण केसी र शरद भेषावरले १–१ विकेट आफ्नो नाममा लेखाए ।
१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा पहिलो सफलता हात पारेको थियो । नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए । उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए । गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडिएको थियो । यस्तै सन्दीप लामिछानेले क्यानडाका कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरे भने धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे । त्यसपछि घाइते भएका सन्दीपले केही बेर मैदान छाडेका थिए ।
बसन्तले क्यानडाको चौथो विकेटको रुपमा धलिवाललाई ४ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट स्टम्पपिन गराए । करणले नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा क्यानडाका विकेटकिपर ब्याट्सम्यान हम्जा तारिकलाई २४ रनमा आउट गरे । आउट हुनुअघि उनले ३० बल खेल्दै २ छक्का प्रहार गरे। दुवै छक्का उनले सन्दीप लामिछानेको बलमा प्रहार गरेका थिए । शरदले विन जाफरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे । लगत्तै निखिल दत्ता शून्य रनमा पारस खड्काले डाइरेक्ट हिटमार्फत रनआउट गरे । बसन्तले हेलिगरलाई शून्य रनमा बोल्ड गरे । आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।
शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ । नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ । तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए । २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ । नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ । हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ । नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ । युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ । यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह छ ।