को बन्दैछन् प्रदेश प्रमुख ? यि हुन् चर्चित अनुहार

काठमाण्डौं, मंसिर २६ ।
नयाँ संविधान अनुसार तीन संरचनाको सरकारमध्ये प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेका छन् । निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आचारसंहिता निस्क्रिय भएको भन्दै प्रधानमन्त्रीले सात वटै प्रदेशका लागि प्रमुख सिफारिस गर्न सम्बन्धित व्यक्तिसँग छलफल समेत थालेका छन्। प्रधानमन्त्री देउवाले प्रदेश प्रमुखका लागि रुक्मांगत कटवाल, रामनगिना सिंह, केदारभक्त माथेमा, अनुराधा कोइरला र भोजराज पोखरेलसँग भेटेर इच्छा बुझेका थिए ।
उनीहरुले सकारात्मक रुपमा लिएपछि अर्को मन्त्रीपरिषदको बैठकमा उनीहरुको नाम सिफारिस गर्ने तयारी रहेको एक मन्त्रीले बताए । ‘उहाँहरुसँग प्रधानमन्त्रीले कुरा गर्नुभएको छ’, ती मन्त्रीले भने, ‘विवादरहित तवरबाट सिफारिस भएमा जान तयार रहेको प्रतिक्रिया पाएकाले अर्को बैठकमा सिफारिस हुन्छ ।’ प्रदेश १ को प्रमुखमा पूर्व प्रधानसेनापति कटवाल, प्रदेश २ मा पूर्व न्यायाधीश सिंह, प्रदेश ३ मा त्रिविका पूर्व उपकुलपति माथेमालाई सिफारिश गर्ने तयारी गरिएको छ भने प्रदेश ४ मा समाजसेवी कोइराला र ५ मा पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई नियुक्त गर्ने समझदारी भएको ती मन्त्रीले बताए । ४ नम्बर प्रदेशमा निलाम्बर आचार्यको नाम पनि सुनिएको छ ।
प्रदेश प्रमुख हुन चाहिने योग्यता
सरकारले नै गठन गरेको एक कार्यदलले गैरराजनीतिक व्यक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव सिफारिस गरेको थियो । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना निर्देशक समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको मापदण्डमा राजनीतिक दलको सदस्य नभएको व्यक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव गरेको थियो । प्रदेश प्रमुखका लागि ३५ वर्ष उमेर पूरा भएको र संघीय संसदको सदस्य हुन योग्य रहेको व्यक्ति नियुक्त गर्न सकिने सिफारिसमा उल्लेख छ ।
प्रदेश प्रमुखको योग्यताका लागि ५ वटा मापदण्ड प्रस्ताव गरिएको छ । जसमा संविधान, कानुन र प्रशासनको क्षेत्रमा अनुभव, स्वच्छ छवि र राष्ट्रिय ख्यातिप्राप्त, राजनीतिक दलको सदस्य नरहेको, समाजमा महत्वपूर्ण योगदान र्पुयाएको र सम्बन्धित प्रदेशको मतदाता वा स्थायी बसोबास नभएको व्याक्ति हुनुपर्ने उल्लेख छ । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना निर्देशक समितिमा पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मासहित पूर्वसांसदहरु राजेन्द्र पाण्डे, आरजु राणा देउवा र भुवन पाठक थिए । मन्त्रिपरिषदमा यो प्रस्ताव पुगेपनि पारित भएको छैन ।