कोरोना संक्रमितको शव अन्त्यष्टी गर्दा पोखरामा झडप (भिडियो सहित)

पोखरा, जेठ २६ ।
कोरोना संक्रमणका कारण पोखरामा आइतबार राती ज्यान गुमाएका एक ब्यक्तिको शव चर्को विरोधका बीच २० घण्टापछि मात्रै अन्त्यष्टी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा आइतबार राती साढे ११ बजे निधन भएका स्याङजाका ५८ बर्षिय पुरुषको शव पोखरा स्थित सेती नदी डिलमा अन्त्यष्टी गरिएको हो ।

कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव ब्यवस्थापनको पूर्व तयारी नहुँदा समस्या परेको हो । नेपाली सेनाको शव व्यवस्थापन तालिमप्राप्त टोलीले पोखरा वडा ११ र २० मा पर्ने सेती किनार रिठ्ठाघाटमा खाल्डो खनेर गाडेको हो । विहानैदेखि विभिन्न ठाउँ खोजी गरिएकोमा स्थानीयको विरोधका कारण समस्या आएको थियो ।

यता अस्पतालमै लामो समयसम्म शव राखिँदा अन्य बिरामी त्रसित थिए । हरियो खर्क अस्पताल नजिक गाडिने भने पनि स्थानीयको विरोधपछि खाल्डो खन्न गएको महानगरको जेसीबी त्यसै फर्कियो । शव गाड्दा संक्रमण फैलिन सक्ने भन्दै स्थानीयले विरोध गरेका थिए ।

ठाउँ खोज्दै जाँदा सेती किनार रिठ्ठाघाटमा गाड्ने भनी खाल्डो खनि सक्दासमेत स्थानीयले विरोध गरे ।

ठूलो संख्यामा उपस्थित भएका स्थानीयको भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको थियो । लाठीचार्जबाट पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोला समेत सामान्य घाइते छन् । प्रहरीले वडा २० का ५ र वडा ११ का ३ गरी ८ जनालाई नियन्त्रण लिएको छ । भारतबाट वालिङ फर्केका ती पुरुषलाई वालिङ क्वारेन्टाइनमा राखिएकोमा स्वास्थ्यमा समस्या देखिएपछि जेठ २२ मा पोखरा पठाईएको थियो ।

ती पुरुषमा किड्नी, मधुमेहलगायत रोग थियो । गण्डकीमा कोरोनाबाट मृत्यु हुने यो पहिलो घटना हो । हालसम्म मनाङ र मुस्ताङ बाहेक ९ वटै जिल्लामा कोरोना संक्रमण भेटिएको छ ।

फाेटाे-सुनिल पाण्डे\भिडियाे-प्रदीप पाैडेल