कोरोना नियन्त्रणमा १३ अर्व खर्च, संघको भन्दा स्थानीय तहको बढी

काठमाण्डौं, भदौ ६ ।
सरकारले कोरोनाको नियन्त्रणका लागि हालसम्म १३ अर्वभन्दा बढी खर्च भएको सार्वजनिक गरेको छ । हालसम्म १३ अर्व ३६ करोड रुपैयाँ खर्च गरेको हो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्त सम्म यो रकम खर्च गरेको सरकारका प्रबक्ता डा. युवराज खतिवडाले बताए ।

खर्चको विवरण हेर्दा सबैभन्दा बढी स्थानीय तहले खर्च गरेका छन् । संघ सरकारले ५ अर्व ८५ करोड, प्रदेशले १ अर्व ३ करोड र स्थानीय तहले ६ अर्व २ करोड खर्च गरेको निकालिएको छ ।

संघ सरकारमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट १ करोड, कोरोना कोषबाट १ अर्ब ३ करोड, परराष्ट्र मन्त्रालयबाट ६ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तो खर्च औषधि र स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य क्षेत्रमा खर्च भएको उल्लेख गरिएको छ । नेपाल सरकारले खोलेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ७५ करोड रुपैयाँजम्मा भएकोमा यसबाट १ अर्ब २० करोड रुपैयाँखर्च भएको उनले बताए । प्रदेश र स्थानीय तहहरुले पनि आफ्नै कोष खडा गरेका छन् ।